काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगारी व्यवसायी एसोसिएसनले संस्थाको विधानविपरीत निर्णय गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण गराएको छ।
सोमबार कार्यवाहक अध्यक्ष सुवर्ण लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापनपत्र बुझाउँदै गत असार २२ गते गरिएको निर्णय सच्याउन माग गरेको हो।
एसोसिएसनका अनुसार गत असार ५ गते सम्पन्न १३औँ साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित रामप्रसाद गैरेलाई हटाई निर्वाचनमा पराजित उम्मेदवार किशोरकुमार केसीलाई अध्यक्षको जिम्मेवारी तोक्ने प्रशासनको निर्णय संस्थाको विधानविपरीत छ।
ज्ञापनपत्रमा संस्थाको विधानको दफा १३ को उपदफा (४) अनुसार अध्यक्षको पद रिक्त भएमा नयाँ निर्वाचन प्रक्रियाबाट मात्रै पदपूर्ति गर्न सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा निर्वाचनमा पराजित उम्मेदवारलाई प्रशासनिक निर्णयमार्फत अध्यक्ष तोक्न नमिल्ने एसोसिएसनको जिकिर छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवर्ण लामा, महासचिव सुमन पाण्डे, नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्ष, क्रियाशील सदस्य तथा निर्वाचन अधिकृतको उपस्थिति रहेको थियो।
कार्यवाहक अध्यक्ष लामाले संस्था विधान र प्रचलित कानुनअनुसार नै अघि बढ्ने बताए। अध्यक्ष पद रिक्त हुने अवस्था आएमा विधानअनुसार अधिवेशनमार्फत नयाँ निर्वाचन गराई नेतृत्व चयन गरिने उनले स्पष्ट पारे।
“संस्थाको विधानले निर्धारण गरेको प्रक्रियाअनुसार नै नेतृत्व चयन हुन्छ। आवश्यक परे नयाँ अधिवेशन गरी अध्यक्ष निर्वाचित गरिनेछ,” लामाले भने।
यस विषयमा कानुन व्यवसायीहरूले निर्वाचनमा पराजित उम्मेदवारलाई प्रशासनिक निर्णयबाट अध्यक्ष नियुक्त गर्न नमिल्ने धारणा व्यक्त गरेका छन्।
प्रशासनको निर्णयपछि उत्पन्न विवाद अब कसरी समाधान हुन्छ भन्ने विषयलाई वैदेशिक रोजगार व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन्।




























