काठमाडौं । इजरायलमा केयरगिभरका रूपमा रोजगारीका लागि नेपाली सहायक कामदार छनोट प्रक्रिया पहिलो पटक लाइभ चिट्ठा प्रणालीमार्फत सम्पन्न भएको छ। उक्त प्रक्रियाबाट ८३६ जना नेपाली उम्मेदवार छनोट भएका छन्।
इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरणले नेपालका लागि इजरायली राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमको उपस्थितिमा श्रव्यदृश्य माध्यमबाट प्रत्यक्ष प्रसारणसहित चिट्ठा प्रणालीमार्फत उम्मेदवार छनोट गरेको हो।
नेपालस्थित इजरायली दूतावासका अनुसार छनोट प्रक्रियामा कुल १ हजार ११५ जना सहभागी भएका थिए। तीमध्ये ८३६ उम्मेदवार छनोट सूचीमा परेका छन्।
छनोट प्रक्रियाका अवसरमा राजदूत एरीबासले निकट भविष्यमा इजरायलको केयरगिभर क्षेत्रमा थप २ हजार १०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिए। उनले ‘घरमा आधारित स्याहार सेवा’ तथा ‘कृषि श्रमिक’ सम्बन्धी नेपाल–इजरायल द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनको चरणमा पुगेको पनि बताए।
द्विपक्षीय श्रम सम्झौताअन्तर्गत इजरायल जाने नेपाली कामदारले इजरायली कानुनअनुसार स्थानीय कामदारसरह न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा अन्य सेवासुविधा प्राप्त गर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ।
दुवै देशले यो छनोट प्रक्रियालाई नेपाल–इजरायल श्रम सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै छनोट प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसर प्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।



























