काठमाडौं । जीवन बीमा कम्पनीहरू बीच प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा प्रथम बीमा शुल्क सङ्कलनमा पुनः अग्रस्थान कायम गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क सङ्कलन गरेको हो।
नयाँ बीमा व्यवसाय विस्तारको प्रमुख सूचक मानिने प्रथम बीमा शुल्कमा दोहोरो अंकको अर्बीय कारोबार गर्न सफल नेपाल लाइफले बजार नेतृत्वलाई निरन्तरता दिएको छ। कम्पनीका अनुसार यो उपलब्धिले नयाँ ग्राहक विस्तार, अभिकर्ता सञ्जालको प्रभावकारिता तथा कम्पनीप्रतिको जनविश्वासलाई प्रतिबिम्बित गरेको छ।
स्थापनाको २५ वर्ष पूरा गरिसकेको नेपाल लाइफले देशभर फैलिएको शाखा सञ्जाल, हजारौं अभिकर्ता, प्रविधिमैत्री सेवा तथा छिटोछरितो दाबी भुक्तानी व्यवस्था मार्फत जीवन बीमा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। पछिल्ला वर्षहरूमा कम्पनीले डिजिटल माध्यमबाट बीमा सेवा विस्तार, ग्राहकमैत्री योजना र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को उपलब्धिलाई २५ वर्षे यात्राको अर्को महत्वपूर्ण कोसेढुङ्गा भन्दै यस सफलतामा योगदान पुर्याउने बीमित, अभिकर्ता, कर्मचारी, सेयरधनी तथा शुभेच्छुकप्रति आभार व्यक्त समेत गरेको छ।
जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला प्रथम बीमा शुल्क सङ्कलनमा अग्रस्थान कायम राख्न सफल हुनु कम्पनीप्रतिको ग्राहकको उच्च विश्वास, गुणस्तरीय तथा भरपर्दो सेवा, छिटोछरितो दाबी भुक्तानी व्यवस्था र बजारमा स्थापित साखको प्रतिफलका रूपमा हेरिएको छ।


























