काठमाडौं । नेपाल अरनिको यातायात प्रालिले रसुवा–भोटेकोसी बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा रु. १ लाख ११ हजार सहयोग गरेको छ।
सोमबार बाढीपहिरोमा परी बेपत्ता तथा ज्यान गुमाएका संस्थामा आबद्ध सवारीधनी, चालक र सहचालकको स्मृति तथा श्रद्धाञ्जली सभाका अवसरमा उक्त रकम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) लाई हस्तान्तरण गरिएको हो।
भोटेकोसी बाढीमा नेपाल अरनिको यातायात प्रालिका १८ वटा सवारीसाधनमा क्षति पुगेको तथा सवारीधनी, चालक र सहचालक गरी तीन जना बेपत्ता भएका थिए। हालसम्म एक जना चालकको मात्र शव फेला परेको जनाइएको छ।
नेपाल अरनिको यातायात प्रालिका अध्यक्ष हरिभक्त श्रेष्ठको अध्यक्षतामा भएको श्रद्धाञ्जली तथा स्मृति सभामा प्रमुख अतिथि महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) र विशिष्ट अतिथि महासंघका पूर्वअध्यक्ष विजयबहादुर स्वार रहेका थिए।
कार्यक्रममा महासंघका उपाध्यक्ष जितबहादुर भारती, महासचिव डेगनाथ गौतम, बागमती प्रदेश संयोजक सुवन गिरी, वर्गीय संयोजक श्री श्रेष्ठ, नेपाल अरनिको यातायात प्रालिका पूर्वअध्यक्ष रमेश वैद्य र चित्रबहादुर कुँवर, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष दिपक केसी, अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष केदारप्रसाद चौलागाईं तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष रामकुमार ढुंगाना लगायतको उपस्थिति थियो।
प्रालिले बेपत्ता भएका आफ्ना संस्थामा आबद्ध व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ। साथै, भविष्यमा आइपर्ने विपद्मा राहत पुर्याउने उद्देश्यले निकट भविष्यमै अक्षय कोष स्थापना गर्ने तयारी रहेको जनाएको छ।

























