काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा संघका पदाधिकारी तथा सदस्य सम्मिलित प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक नवराज ढकाललाई भेट गरी वैदेशिक रोजगार क्षेत्रका समसामयिक समस्या, नीतिगत सुधार तथा व्यवसायीले भोग्दै आएका विभिन्न समस्याका विषयमा छलफल गरेको छ।
नवनियुक्त महानिर्देशक ढकाललाई भेट गर्न पुगेको संघको प्रतिनिधिमण्डलले उनलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको थियो। त्यसक्रममा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउँदै लैजान विभाग र व्यवसायीबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको संघले जनाएको छ।
भेटमा संघका पदाधिकारी तथा सदस्यहरूले वैदेशिक रोजगार व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले सामना गर्नुपरेका विभिन्न व्यावहारिक तथा नीतिगत समस्याबारे महानिर्देशक ढकालको ध्यानाकर्षण गराएका थिए। व्यवसायीमैत्री वातावरण निर्माण, विद्यमान नीतिगत व्यवस्थामा आवश्यक सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिमण्डलले विभागको ध्यानाकर्षण गराएको थियो।
सो अवसरमा महानिर्देशक ढकालले वैदेशिक रोजगार क्षेत्रमा कुनै पनि किसिमको एकाधिकार कायम हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। उनले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि आवश्यक नीतिगत पहल गर्ने तथा व्यवसायीमैत्री वातावरण निर्माणमा विभागले आवश्यक भूमिका निर्वाह गर्ने बताएका थिए।
त्यसैगरी, मलेसियाको FWCMS मा २५ वटा व्यवसायी संस्था सूचीकृत रहेको विषयमा समेत छलफल भएको थियो। उक्त विषयमा आवश्यक जाँचबुझ गरी वास्तविक अवस्था पहिचान गर्ने र प्रचलित कानुन तथा नियमअनुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता महानिर्देशक ढकालले व्यक्त गरेको संघले जनाएको छ।
महानिर्देशक ढकालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन विभाग, व्यवसायी र श्रमिकबीच आपसी विश्वास, समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए। उनले व्यवसायी तथा श्रमिकका जायज समस्यालाई सम्बोधन गर्दै विभागको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ आफूले पहल गर्ने धारणा व्यक्त गरेका छन्।
उनले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै व्यवसायी, श्रमिक र विभागबीच प्रभावकारी समन्वय कायम गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, मर्यादित र व्यवस्थित बनाउन आवश्यक सुधारका कामलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
भेटका क्रममा संघको प्रतिनिधिमण्डलले वैदेशिक रोजगार व्यवसायलाई सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न स्पष्ट तथा व्यवहारिक नीति आवश्यक रहेको बताएको थियो। व्यवसायीले कानुन तथा नीतिको पालना गर्दै काम गर्ने वातावरण निर्माण गर्न विभागबाट आवश्यक सहजीकरण हुनुपर्नेमा समेत प्रतिनिधिमण्डलले जोड दिएको थियो।
संघका अध्यक्ष खत्रीले नवनियुक्त महानिर्देशक ढकाललाई सफल कार्यकालको शुभकामना दिँदै वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान तथा आवश्यक नीतिगत सुधारका लागि संघ विभागसँग सहकार्य गर्न तयार रहेको बताएका थिए। उनले व्यवसायी, श्रमिक र सरकारबीच सहकार्यबाट मात्रै वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सकिने धारणा व्यक्त गरेका थिए।
संघका महासचिव हिराबहादुर डाँगी ‘हरी’ले भेटका क्रममा भएका छलफल तथा महानिर्देशक ढकालबाट व्यक्त प्रतिबद्धताबारे संघमा आबद्ध सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई जानकारी गराएका छन्। उनका अनुसार महानिर्देशक ढकालबाट व्यक्त प्रतिबद्धताले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारका लागि सकारात्मक वातावरण बन्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

























