काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले आगामी साउन २९ गते हुने साधारणसभा सहितको अधिवेशनमा सहभागी हुन इच्छुक सदस्य संस्थाहरूलाई यहि १९ गतेभित्र प्रतिनिधिको नामावली र आवश्यक कागजात अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।
मञ्चका अध्यक्ष जनक रावलद्वारा जारी सूचनामा अधिवेशनमा सहभागिताका लागि सदस्य संस्थाले प्रतिनिधि छनोट सम्बन्धी निवेदन सहित आवश्यक कागजात मञ्चको कार्यालयमा बुझाउनु पर्ने उल्लेख गरिएको छ।
मञ्चले अधिवेशन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्न सबै सदस्य संस्थालाई निर्धारित समयसीमा पालना गर्न अनुरोध गरेको छ।
अधिवेशनका लागि प्रतिनिधि दर्ता गर्दा प्रतिनिधि छनोटको निवेदन,संस्थाको इजाजतपत्र तथा शेयर लगतको प्रतिलिपि,प्रतिनिधिको नागरिकताको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइज फोटो साथै निर्धारित लेवी बुझाएको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाइएको छ।
प्रतिनिधि दर्ता तथा आवश्यक समन्वयका लागि मञ्चले विभिन्न पदाधिकारी तथा सदस्यलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ। सदस्य संस्थाले आवश्यक जानकारीका लागि ती सम्पर्क व्यक्तिमार्फत पनि समन्वय गर्न सक्नेछन्।
मञ्चले साउन १९ गतेपछि प्राप्त हुने प्रतिनिधि सम्बन्धी आवेदन तथा कागजातलाई मान्यता नदिइने स्पष्ट गर्दै तोकिएको समयभित्रै सम्पूर्ण प्रक्रिया पूरा गर्न सदस्य व्यवसायीलाई आग्रह गरेको छ।




























