काठमाडौं । नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने आफ्नोतर्फका सम्पूर्ण शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ।
निगमले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आफ्ना अन्तर्राष्ट्रिय स्टेशनबाट नेपाल पठाइने राहत सामग्रीमा यस्तो सहुलियत दिने निर्णय गरेको हो। विपद्को समयमा मानवीय सहयोगलाई सहज बनाउँदै प्रभावित नागरिकसम्म राहत सामग्री छिटो पुर्याउने उद्देश्यले शुल्क छुटको व्यवस्था गरिएको निगमले जनाएको छ।
सम्बन्धित नेपाली दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्रीको ढुवानीमा निगमसँग सम्बन्धित शुल्क नलिइनेछ।
निगमका अनुसार विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म शीघ्र पुर्याउन उक्त निर्णयले सहयोग पुग्ने विश्वास लिइएको छ। विपद्का बेला मानवीय सहयोगलाई थप प्रभावकारी बनाउन निगमले आफ्नो तर्फबाट सहजीकरण गरेको जनाएको छ।




























