काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलपछि साउदी अरेबिया सम्बन्धी आईडी , साउदि आईडि नवीकरण प्रक्रिया सहज बनेको बताएको छ। संघका पदाधिकारी र साउदी दूतावासबीच भएको औपचारिक भेटवार्तापछि व्यवसायीलाई सहज हुने गरी विभिन्न प्रक्रियागत सहजीकरण गरिएको संघले जनाएको छ।
संघका प्रथम उपाध्यक्ष महेश कुमार बस्नेत र सचिव केदारनाथ अधिकारीले साउदी दूतावासमा गरेको औपचारिक भेटघाटका क्रममा आईडी नवीकरण प्रक्रियामा रहेका जटिलता हटाउने विषयमा छलफल भएको थियो। उक्त छलफल पछि दूतावासले व्यवसायीलाई राहत पुग्ने गरी पुनरावोलोकन गरेको संघका महासचिव हिरा बहादुर डाँगी (हरि)ले जानकारी दिएका छन्।
संघका अनुसार अब साउदी आईडी नवीकरण गर्दा कुनै पनि प्रमाणपत्रको प्रमाणित कागजात आवश्यक पर्ने छैन। त्यसैगरी भेरिफिकेशनका लागि सक्कल कम्पनी दर्ता प्रमाणपत्र र वैदेशिक रोजगार इजाजतपत्र अन्य आवश्यक कागजातसँगै पेश गरे पुग्ने व्यवस्था गरिएको छ।
यस्तै, सञ्चालक तथा कर्मचारीहरूको पुलिस रिपोर्टमा पनि परराष्ट्र मन्त्रालयबाट प्रमाणित गर्नु नपर्ने निर्णय भएको संघले जनाएको छ। यस व्यवस्थाले आईडी नवीकरण प्रक्रियामा लाग्ने समय, खर्च र प्रशासनिक झन्झट कम हुने विश्वास गरिएको छ।
संघका अनुसार आईडी नवीकरण प्रक्रिया पूरा भएपछि पनि सक्रिय नरहेका संस्थाको स्थानमा नयाँ आईडी इच्छुक इजाजतप्राप्त व्यवसायीलाई सहज रूपमा उपलब्ध गराइने व्यवस्था समेत हुने संघले जनाएको छ ।
महासचिव डाँगीले साउदी दूतावासले जारी गरेको चेकलिस्ट तथा नयाँ व्यवस्थाअनुसार निर्धारित समय सीमाभित्रै आईडी नवीकरण प्रक्रिया पूरा गर्न सबै सदस्य व्यवसायीलाई आग्रह गरेका छन्।
संघले साउदी दूतावाससँगको समन्वयबाट भएको यो सहजीकरणले वैदेशिक रोजगार व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।



























