काठमाडौं, साउन १७ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व सदस्य रबिन मेघाले मलेसिया रोजगारीमा पुनः सिन्डिकेट प्रणाली लागू गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।
उनले विगतमा व्यवसायीहरूको एकताबद्ध प्रयासबाट अन्त्य गरिएको सिन्डिकेट व्यवस्था पुनःस्थापना गर्ने संकेत देखिएको दाबी गर्दै त्यसविरुद्ध आवश्यक परे चरणबद्ध आन्दोलनमा उत्रिने समेत चेतावनी दिए।
मेघाले मलेसिया रोजगारीमा सीमित व्यवसायीलाई मात्र अवसर दिने तथा खुला प्रतिस्पर्धालाई रोक्ने कुनै पनि व्यवस्था व्यवसाय, श्रमिक र राज्य—तीनै पक्षका लागि हानिकारक हुने बताए। उनका अनुसार सिन्डिकेटका कारण वैदेशिक रोजगार क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा समाप्त हुने, अधिकांश इजाजतप्राप्त व्यवसायी प्रभावित हुने र अन्ततः श्रमिकले समेत महँगो सेवा तथा विभिन्न समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन्छ।उनले भने हाल करिब ६०–६५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी मलेसिया रोजगारीमा निर्भर रहेको उल्लेख गर्दै सीमित कम्पनीलाई मात्र अवसर दिने अभ्यासले धेरै व्यवसायीको लगानी जोखिममा पर्ने र व्यवसाय नै धरापमा पर्ने अवस्था आउने बताए।
मेघाले आन्दोलन कुनै एक पक्षविरुद्ध मात्र नभई आवश्यक परे नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, सम्बन्धित सरकारी निकाय तथा नेपाल सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले अघि बढाइने स्पष्ट पारे। “हाम्रो उद्देश्य कसैसँग द्वन्द्व गर्नु होइन, गलत निर्णय सच्याउन सम्बन्धित पक्षलाई जिम्मेवार बनाउनु हो,” उनले भने।
उनका अनुसार प्रारम्भिक चरणमा ध्यानाकर्षण, छलफल र डिजिटल अभियान सञ्चालन गरिनेछ। ती प्रयासबाट पनि माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक मेगालेले जानकारी दिए।



























