काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औँ वार्षिक साधारणसभा तथा ५८औँ अधिवेशन श्रावण २९ गते शुक्रबार हुँदै गर्दा अध्यक्ष पदका उम्मेदवार भरतजंग पाण्डेले आफू निर्वाचित भए पर्यटन क्षेत्रको सुधार र व्यवसायीको हितमा विभिन्न काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्। पर्यटन व्यवसायी तथा एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका सञ्चालक पाण्डेले नाट्टालाई थप सशक्त, आधुनिक, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने तथा नेपालको पर्यटन क्षेत्रको नीतिगत सुधार र प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने योजना अघि सारेका छन्।
पाण्डेले आफू निर्वाचित भए पर्यटन व्यवसायीको हकहित संरक्षणसँगै सरकारसँग प्रभावकारी समन्वय, नीतिगत सुधार, अन्तर्राष्ट्रिय बजार विस्तार, डिजिटल रूपान्तरण, नयाँ पर्यटकीय गन्तव्यको प्रवर्द्धन, युवा नेतृत्व विकास र सदस्य सेवाको विस्तारलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्। पर्यटन विकासका लागि राज्य र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको भन्दै उनले नाट्टालाई व्यवसायीको साझा आवाजका रूपमा स्थापित गर्दै नीति निर्माण र पर्यटन प्रवर्द्धनमा प्रभावकारी साझेदार बनाउने प्रतिबद्धता जनाएका छन्।
पर्यटन व्यवसायीले भोग्दै आएका कर, हवाई सेवा, भिसा तथा प्रवेश प्रक्रिया, पूर्वाधार र प्रशासनिक जटिलतालगायतका समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग नियमित संवाद र समन्वय गर्ने उनले बताएका छन्। व्यवसायीका समस्या र सुझावलाई संस्थागत रूपमा सरकारसमक्ष पुर्याउँदै नीतिगत सुधारका लागि निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ।
नेपालमा पर्यटकीय सम्भावना पर्याप्त भए पनि अन्तर्राष्ट्रिय बजारमा त्यसअनुसार प्रभावकारी प्रचार हुन नसकेको भन्दै पाण्डेले पर्यटन प्रवर्द्धनलाई काठमाडौं र केही प्रमुख गन्तव्यमा मात्र सीमित नराखी सम्भावनायुक्त नयाँ गन्तव्यसम्म विस्तार गर्ने योजना अघि सारेका छन्। नयाँ गन्तव्यको पहिचान, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय बजारीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्र तथा पर्यटनसम्बद्ध संस्थाबीच सहकार्य बढाउने उनले बताएका छन्।
पर्यटकको संख्या बढाउनेसँगै उनीहरूको बसाइ अवधि र प्रतिपर्यटक खर्च बढाउने तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन ब्रान्डलाई थप बलियो बनाउने कार्यक्रम अघि बढाउने उनको योजना छ। पर्यटन प्रवर्द्धनलाई परम्परागत शैलीमा सीमित नराखी अन्तर्राष्ट्रिय बजारको मागअनुसार प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्।
विश्व पर्यटन बजार डिजिटल प्रविधिमा आधारित हुँदै गइरहेको अवस्थामा नेपाली ट्राभल तथा टुर व्यवसायलाई पनि प्रविधिमैत्री बनाउने पाण्डेको योजना छ। नाट्टाका सदस्य व्यवसायीको क्षमता अभिवृद्धिका लागि डिजिटल मार्केटिङ, अनलाइन बुकिङ, डेटा व्यवस्थापन, अन्तर्राष्ट्रिय बजारसँग डिजिटल पहुँच तथा नयाँ प्रविधिको प्रयोगसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्। साथै, युवा पर्यटन व्यवसायीलाई नेतृत्व विकासका अवसर उपलब्ध गराउँदै संस्थाको भावी नेतृत्व तयार गर्ने विषयलाई समेत प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ।
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न विदेशी पर्यटन संघसंस्था, एयरलाइन्स, टुर अपरेटर, ट्राभल ट्रेड तथा पर्यटन प्रवर्द्धनसम्बन्धी संस्थासँग सम्बन्ध विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन्। नेपालको पर्यटन प्रवर्द्धनका लागि बीटुबी भेटघाट, पर्यटन मेला, रोड शो, फाम ट्रिप तथा डिजिटल प्रचार अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उनको भनाइ छ।
नाट्टाको २०२०–२०२२ कार्यसमितिमा सदस्य रहिसकेका पाण्डेले पर्यटन क्षेत्रका समस्या र व्यवसायीका आवश्यकता नजिकबाट बुझेका कारण आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। आफू निर्वाचित भए अघि सारेका प्रतिबद्धता कार्यान्वयन गर्दै पर्यटन व्यवसायीको हकहित र क्षेत्रका समस्या समाधानमा परिणाम देखाउने दाबी गर्दै उनले सबै व्यवसायीलाई आफ्नो पक्षमा मतदान गरी विजयी गराउन अपिल गरेका छन्।




























