काठमाडौं । तामाकोशी पुलबाट हामफाल्दा एक ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–४ हिटि बस्ने ६५ वर्षीया सिता माया दाहालरहेको जनाइएको छ दाहालले तामाकोशीको पुलमुनिबाट नदीमा हामफालेकी थिइन्।
स्थानीयवासीले उनलाई हामफालेको देखेलगत्तै तत्काल उद्धार गरे पनि उनको ज्यान गइसकेको प्रहरीले जनाएको छ। नदीले उनलाई अन्दाजी ५० देखि ६० मिटर तलसम्म बगाएको अवस्थामा स्थानीयले मृत शरीर निकालेर किनारमा राखेका थिए।
घटनाबारे बिहान ०८:०० बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी किराँतीछापबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) सविन बोहराको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
मृतकका आफन्तलाई घटनाबारे खबर गरिसकिएको छ।
घटनास्थल तथा लासजाँच मुचुल्का तयार पार्न र घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट विशेष टोली परिचालन गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




























