काठमाडौं – दोलखाको तामाकोशी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दोहोरो चरित्र र अपारदर्शी कार्यशैलीका कारण प्रशासनिक अराजकता उत्कर्षमा पुगेको छ। आफ्नै औँठाछाप र हस्ताक्षरमा दिएको निर्णयलाई केही महिनामै आफैँले उल्टाउँदै प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले प्रशासनिक मर्यादाको धज्जी उडाएका छन्।
भर्खरै बाहिर आएका दुई पत्रले तामाकोशी गाउँपालिकाभित्र कतिसम्मको स्वार्थ समूह र अनियमितताको जालो छ भन्ने प्रस्ट पार्छ। मिति २०८२ मंसीर ३ गते प्रमुख प्रशासकीय अधिकृत दर्जीले जनस्वास्थ्य निरीक्षक (छैटौँ) युवराज के.सी.लाई ‘कुशलतापूर्वक भूमिका निर्वाह गर्ने’ विश्वासका साथ बधाई दिँदै स्वास्थ्य शाखाको संयोजक तोकेका थिए।
तर, तिनै अधिकृत दर्जीले मिति २०८३ साउन १२ गते आफ्नै पूर्वप्रतिकूल हुने गरी के.सी.लाई पदबाट हटाएर सहरे स्वास्थ्य चौकीमा लखेटेका छन्।
प्रश्न हाकिममाथि: हिजो सिनियर र योग्य हुने, आज एक्कासीअयोग्य?
एउटै कार्यालय प्रमुखले आफ्नै निर्णयलाई यसरी लत्याउनु पछाडि कुन अदृश्य शक्ति वा स्वार्थले काम गरेको छ? हिजो क्षमता र वरिष्ठता (सिनियर) देखेर जिम्मेवारी सुम्पिने हाकिमले आज कुन नियतले त्यो जिम्मेवारी खोसे? यो केवल प्रशासनिक सरुवा मात्र नभएर हाकिमको स्वेच्छाचारिता र बदनियतको पराकाष्ठा भएको स्थानीयको आरोप छ।
आफ्नै निर्णयमा टिक्न नसक्ने र एउटै व्यक्तिलाई पटक-पटक राजनीतिक वा व्यक्तिगत प्रतिशोधको शिकार बनाउने यस्तो कार्यले गाउँपालिकाको साख नै धमिल्याएको छ।
औषधि खरिद र आर्थिक चलखेलको ठूलो दाउ
स्रोतका अनुसार यो सरुवा र जिम्मेवारी खोसाइको मुख्य चुरो आर्थिक लेनदेन र औषधि खरिदको बजेटसँग जोडिएको छ।
पालिकामा भित्रिने औषधि खरिद, स्वास्थ्य उपकरण तथा विभिन्न कार्यक्रमको बजेटमा आफू अनुकूलको नयाँ स्वास्थ्य संयोजक ल्याएर आर्थिक फाइदा उठाउने प्रपञ्च रचिएको आरोप छ।

साविक संयोजक के.सी.ले नियमविपरितका फाइलमा हस्ताक्षर गर्न अस्वीकार गरेको, विदा र आर्थिक हिसाब-किताबमा पारदर्शी अडान लिएकै कारण उनलाई पन्छाएर ‘आफ्नो मान्छे’ भित्र्याउने खेल सुरु भएको पालिका वृत्तमा चर्चा छ।

औषधिजस्तो संवेदनशील क्षेत्रमा समेत आर्थिक फाइदा हेरेर संयोजक फेरबदल गरिनुले गम्भीर वित्तीय अनियमितताको सङ्केत गर्दछ।
पटक-पटक विवादको अखडा बन्दै तामाकोशी गाउँपालिका
तामाकोशी गाउँपालिका विगतदेखि नै विभिन्न काण्ड र प्रशासनिक विवादका कारण बदनाम हुँदै आएको छ।
जनप्रतिनिधि र कर्मचारीको जुधाई, बजेट असन्तुलन र अपारदर्शी निर्णयका कारण पटक-पटक विवादमा तानिँदै आएको यो पालिकामा पछिल्लो समय कार्यालय प्रमुख स्वयं विवादको कारक बन्न पुगेका छन्।
आफैँले दिएको पत्रको धज्जी उडाउँदै, विदा विवाद र हिसाब-किताब नमिलेकै झोंकमा एक जिम्मेवार अधिकृतलाई पन्छाउने प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको यो कदमको चौतर्फी विरोध भइरहेको छ। आफ्नै निर्णयमाथि आफैँले प्रश्नचिह्न खडा गर्ने प्रमुख प्रशासकीय अधिकृतले औषधि खरिद र बजेटमा कुन नियतले चलखेल गर्न खोजेका हुनु र यसको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत उठेको छ।




























