काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा ठोस नीति–नियम र श्रमिकले तिर्नुपर्ने वास्तविक शुल्क निर्धारण हुन नसक्दा अन्तर्राष्ट्रिय श्रम बजारमा हुने उच्च प्रतिस्पर्धाको प्रत्यक्ष असर श्रमिकसँगै वैदेशिक रोजगार व्यवसायीले समेत भोग्नुपरेको फाइभ स्टार हुमन रिसोर्सेजका प्रबन्ध निर्देशक के.पी. गुप्ता शाहले बताएका छन्।
शाहका अनुसार वैदेशिक रोजगारमा जाने श्रमिकबाट लिइने वास्तविक शुल्क स्पष्ट रूपमा निर्धारण गरी त्यसलाई व्यवहारमै कार्यान्वयन गर्न आवश्यक छ। अन्तर्राष्ट्रिय डिमान्डमा हुने तीव्र प्रतिस्पर्धाका कारण श्रमिक मात्रै नभई व्यवसायीसमेत विभिन्न प्रकारका समस्यामा पर्ने अवस्था रहेको उनको भनाइ छ।
‘वैदेशिक रोजगारको एउटा ठोस नीति–नियम र वैदेशिक रोजगारमा जाने श्रमिकको वास्तविक शुल्क निर्धारण नभई अन्तर्राष्ट्रिय डिमान्डको उच्च प्रतिस्पर्धा भइरहँदा कामदार मात्र होइन, व्यवसायी पनि ठगिनु स्वाभाविक हो,’ शाहले भने।
उनले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन राज्यले स्पष्ट नीति निर्माण गर्नुपर्नेमा जोड दिए। व्यवसायी, श्रमिक र सरकारबीच समन्वय कायम गर्दै वास्तविक समस्या पहिचान गरेर दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ।
‘यो व्यवसायलाई मर्यादित र पारदर्शी बनाउनु आजको माग हो,’ शाहले बताए।




























