काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको उपाध्यक्ष पदमा अधिवक्ता धर्म प्रसाद पौडेलले उम्मेदवारी दिएका छन्। पौडेलले बारको संस्थागत सुदृढीकरण, कानुन व्यवसायीहरूका लागि समान अवसरको सुनिश्चितता तथा न्यायालयमा देखिएका विकृति र बेथितिको सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
पौडेलले आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थभन्दा पनि कानुन व्यवसायीहरूको हकहित संरक्षण र बारलाई थप बलियो संस्थाका रूपमा स्थापित गर्ने उद्देश्यले भएको बताएका छन्। विशेषगरी उच्च अदालत पाटन बारमा संगठन विस्तार गर्दै लोकतान्त्रिक कानुन व्यवसायीहरूको संगठनलाई थप मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।
उनले कानुन व्यवसायमा नयाँ प्रवेश गरेका तथा नवोदित कानुन व्यवसायीहरूले पर्याप्त अवसर पाउन नसकेको विषयलाई पनि प्रमुख समस्याका रूपमा उठाएका छन्। केही सीमित वरिष्ठ अधिवक्ताहरूमा मुद्दा केन्द्रित हुने प्रवृत्तिले अन्य कानुन व्यवसायीको पेशागत विकासमा असर परेको भन्दै पौडेलले सबै कानुन व्यवसायीले आफ्नो क्षमता र दक्षताअनुसार समान अवसर पाउने वातावरण निर्माण गर्नुपर्ने बताए।
‘कानुन व्यवसायमा नयाँ पुस्तालाई पनि यो पेशा आफ्नो भविष्य निर्माणका लागि भरपर्दो र सम्मानित पेशा हो भन्ने विश्वास जगाउन आवश्यक छ,’ पौडेलले भने, ‘क्षमता र दक्षताका आधारमा सबै कानुन व्यवसायीले अवसर पाउने वातावरण बनाउनुपर्छ।’
न्यायालयभित्र देखिएका विकृति सुधारको विषयलाई पनि पौडेलले आफ्नो उम्मेदवारीको महत्वपूर्ण एजेन्डा बनाएका छन्। न्यायाधीश नियुक्ति तथा न्यायालयमा प्रवेशका विषयमा राजनीतिक निकटता वा मनोनयनभन्दा निष्पक्ष प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
सक्षम, दक्ष र अनुभवी कानुन व्यवसायीहरूबीच निष्पक्ष प्रतिस्पर्धा गराएर न्यायालयमा प्रवेश गराउने प्रणाली विकास गर्नुपर्ने बताउँदै उनले न्यायालयको गरिमा र जनविश्वास कायम गर्न पारदर्शी प्रक्रिया आवश्यक रहेको बताए।
पौडेलले लोकतन्त्र, समाजवाद, मानव अधिकारको रक्षा, संविधानको संरक्षण तथा समावेशी र न्यायपूर्ण न्याय प्रणालीलाई आफ्नो राजनीतिक तथा पेशागत मूल्यका रूपमा अघि सारेका छन्।
न्यायालय र कानुन व्यवसायको क्षेत्रमा देखिएका विकृति तथा बेथितिलाई क्रमशः न्यूनीकरण गर्दै कानुनको शासनलाई बलियो बनाउनु आवश्यक रहेको उनको भनाइ छ।
उच्च अदालत बार एसोसिएसन पाटनमा आबद्ध करिब २ हजार ३ सय ६३ जना कानुन व्यवसायी मतदाता रहेको जानकारी दिँदै पौडेलले निर्वाचनमा सहभागी मतदातालाई उम्मेदवारको क्षमता, अनुभव, पृष्ठभूमि र पेशाप्रतिको योगदान मूल्याङ्कन गरेर मतदान गर्न आग्रह गरेका छन्।
उनले बारको निर्वाचनलाई कुनै दल वा समूहबीचको प्रतिस्पर्धाका रूपमा मात्र नहेरी सक्षम र प्रतिबद्ध नेतृत्व छनोट गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
‘मतदान गर्दा पार्टी वा समूहभन्दा सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्छ,’ पौडेलले भने, ‘कानुन व्यवसायीको हकहित, पेशागत मर्यादा, समान अवसर र बारको संस्थागत विकासका लागि काम गर्न सक्ने उम्मेदवारलाई छनोट गर्न म सबै मतदातालाई आग्रह गर्दछु।’ अधिवक्ता पौडेलले भने
पौडेलले आफू निर्वाचित भएमा कानुन व्यवसायीहरूबीच सहकार्य र एकता बढाउँदै बारलाई थप प्रभावकारी बनाउने तथा न्यायालय र कानुन व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




























