काठमाडौं । नेपाली जनसम्पर्क समिति साउदी अरबका सह–महामन्त्री रामचन्द्र राउतले नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आफू नेपाल आउने बताएका छन्। प्रवासबाट निर्वाचित महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न महाधिवेशनमा अनिवार्य रूपमा सहभागी हुने उनले बताएका हुन्।
कांग्रेसप्रति आफ्नो आस्था र भरोसा निरन्तर रहेको बताउँदै राउतले पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। महाधिवेशन प्रतिनिधि नभएको भए पनि महाधिवेशनमा सहभागी भएर पार्टीका नेता, कार्यकर्ता तथा भ्रातृ संगठनलाई सहयोग गर्ने आफ्नो योजना रहेको उनले बताए।
“म प्रवासबाट निर्वाचित महाधिवेशन प्रतिनिधि भएकाले जसरी पनि नेपाल आउनुपर्छ। महाधिवेशन सुरु हुनुभन्दा दुई–चार दिन अगाडि नै नेपाल आउने मेरो योजना छ,” राउतले भने।
राउतले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको र पुराना नेताहरूको अनुभव र योगदानलाई सम्मान गर्दै उनीहरूलाई सल्लाहकारको भूमिकामा राखेर युवालाई पार्टीको नेतृत्वमा अगाडि बढाउनुपर्ने उनको धारणा छ।
“पुराना नेताहरूलाई बाइपास गर्ने होइन। उहाँहरूको अनुभव र योगदानलाई सम्मान गर्दै सल्लाहकारको भूमिकामा राख्नुपर्छ। तर अब युवाहरूलाई नेतृत्वमा अगाडि बढाएर कांग्रेसको राजनीति अघि बढाउनुपर्छ,” उनले भने।
उनले पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिक संस्कार र नेता–कार्यकर्ताबीचको सम्बन्धमा समेत परिवर्तन आएको बताए। विगतको तुलनामा अहिले नेता–कार्यकर्ताबीच प्रत्यक्ष भेटघाट र संवाद सहज बनेको उनको भनाइ छ।
राउतले कांग्रेसको आगामी नेतृत्वका विषयमा चर्चा गर्दै गगन थापाको पक्षमा जनलहर देखिएको दाबी गरे। महाधिवेशनमा थापा उच्च बहुमतका साथ विजयी हुने आफ्नो निष्कर्ष रहेको उनले बताए।
उनका अनुसार अहिले कांग्रेसभित्र नयाँ नेतृत्वप्रति आकर्षण बढेको छ। पुरानो पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई पार्टी सञ्चालनको जिम्मेवारी दिनुपर्ने आवाज बलियो बन्दै गएको उनको भनाइ छ।
राउतका अनुसार नेपाली जनसम्पर्क समिति साउदी अरबको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ। विशेष अधिवेशनअघि नै समिति आफ्नो अधिवेशन सम्पन्न गरी १४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित गरिसकेको उनले जानकारी दिए।निर्वाचित प्रतिनिधिहरू नै आगामी महाधिवेशनमा सहभागी हुने जानकारी आफूहरूले पाएको राउतको भनाइ छ।
जनसम्पर्क समितिले आगामी शुक्रबार सल्लाहकार, संरक्षक, संस्थापक पक्ष, कार्यसमिति तथा अन्य जिम्मेवार व्यक्तिहरूको सहभागितामा बैठक आयोजना गर्न लागेको राउतले जानकारी दिए।
राजनीतिक गतिविधिसँगै आफू सामाजिक सेवामा समेत सक्रिय रहेको राउतले बताए। गाउँघरमा मठमन्दिर, सामाजिक संस्था तथा समस्यामा परेका व्यक्तिहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उनले भनाइ छ।
विदेशमा समस्यामा परेका नेपालीलाई समेत विभिन्न समयमा सहयोग गरेको राउत बताउछन।सहयोगलाई प्रचारभन्दा पनि मानवीय दायित्वका रूपमा लिएको र धेरै ठाउँमा मैले सहयोग गरेपनी पाउने व्यक्तिको नाम सार्वजनिक गर्दा उहाँहरूलाई अप्ठ्यारो भएकोले कतिपयले सामाजिक सञ्जालमा नराखिदिनुस् भन्नुहुन्छ। त्यसैले धेरै सहयोग व्यक्तिगत रूपमा नै गर्ने गरेको छु,” राउतले भने।
प्रवासमा रहे पनि आफ्नो गाउँघरको विकास निर्माण र स्थानीय समस्याबारे आफू निरन्तर चासो राख्दै आएको उनले बताए। विशेषगरी सडक तथा एम्बुलेन्स सञ्चालन हुने बाटोको अवस्थालाई प्राथमिकतामा राखेर स्थानीय तहसँग समन्वय गर्दै आएको राउतको भनाइ छ।
गाउँघरबाट बाटो बिग्रिएको छ भन्ने जानकारी आउँदा म सम्बन्धित पक्षसँग समन्वय गर्न सल्लाह दिन्छु। आवश्यक परे मेसिन चलाउन लाग्ने पाँच–दश हजार रुपैयाँसम्म आफ्नै स्रोतबाट सहयोग गर्छु भन्ने गरेको छु,” उनले भने।
एम्बुलेन्स सञ्चालन हुने सडकलाई जुनसुकै अवस्थामा पनि तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिँदै राउतले स्थानीय तहले गर्नुपर्ने काममा आफूले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।




























