काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराललाई नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले मेला, महोत्सव एवं प्रदर्शनी समितिको उपसभापतिमा मनोनित गरिएको छ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कार्यसमिति सदस्यसमेत रहेका बराललाई संघको कार्यसमितिको निर्णयअनुसार समितिको उपसभापतिको जिम्मेवारी दिइएको हो।
आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष रमानाथ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दुर्गाराज श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र शेर्चन तथा कार्यसमिति सदस्य एवं मेला, महोत्सव एवं प्रदर्शनी समितिका सभापति फुपु तेन्जिङ शेर्पाको उपस्थितिमा बराललाई मनोनयन तथा जिम्मेवारीसम्बन्धी पत्र हस्तान्तरण गरिएको थियो।
उद्योगी तथा व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउँदै व्यवसायमैत्री नीति निर्माणका लागि पहल गर्दै आएको संघले निजी क्षेत्रका समस्या, सम्भावना र चुनौतीबारे जानकार बरालको अनुभवलाई समितिको जिम्मेवारीमा उपयोग गर्ने अपेक्षा गरेको छ।
बरालको सहभागिताले विशेषगरी होटल, पर्यटन तथा समग्र निजी क्षेत्रका मुद्दालाई थप प्रभावकारी रूपमा उठान गर्न सहयोग पुग्ने संघको विश्वास छ। मेला, महोत्सव तथा प्रदर्शनीमार्फत व्यापार, पर्यटन, स्वदेशी उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा बरालको अनुभव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
संघले बरालबाट उचित राय, सल्लाह र सुझावसहित सक्रिय भूमिका निर्वाह हुने तथा उनको सहभागिताले संघका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





























