काठमाडौं -नेपाली कांग्रेस दोलखाका पूर्व पार्टी सभापति रुद्रबहादुर खड्काले पार्टीभित्र देखिएको आन्तरिक विवादलाई संवाद, सहमति र विधिको माध्यमबाट समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताएका छन्।
कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राख्दै खड्काले पार्टी फुटाएर अघि बढ्नु कुनै पनि पक्षका लागि सहज र हितकर नहुने बताए। उनका अनुसार अहिलेको आवश्यकता पार्टीलाई विभाजन गर्नेभन्दा पनि नेतृत्व र असन्तुष्ट पक्षबीच गम्भीर संवाद गरी विवादको निकास खोज्नु हो।
उनले पार्टीको विशेष महाधिवेशन, आगामी १५औ महाधिवेशन र त्यससँग जोडिएका विषयमा देखिएको विवादको अन्तिम समाधान सम्बन्धित संवैधानिक तथा न्यायिक प्रक्रियाबाट हुने बताए। विशेष महाधिवेशनका लागि आवश्यक गणपूरक संख्या पुगेको थियो कि थिएन भन्ने प्रश्न पनि महत्वपूर्ण रहेको उनको भनाइ छ।
खड्काका अनुसार विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका केही महाधिवेशन प्रतिनिधिले पछि हस्ताक्षर फिर्ता लिएको दाबी गरेकाले त्यसको आधिकारिकता र कानुनी प्रभावसमेत सम्बन्धित निकायले स्पष्ट गर्नुपर्ने अवस्था आएको छ।
उनले इतर समूहले उठाएका मागलाई बेवास्ता नगरी पार्टी नेतृत्वले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए। माग सम्बोधन गरेर सहमतिको वातावरण बनाउन सके कांग्रेसलाई थप बलियो र लोकतान्त्रिक ढंगले अघि बढाउन सकिने उनको भनाइ छ।
“पार्टी फुटाएर सञ्चालन गर्नु त्यति सजिलो विषय होइन। अहिले पार्टीलाई विभाजन होइन, एकताबद्ध बनाएर अघि बढाउने प्रयास आवश्यक छ,” खड्काले भने।
उनले सर्वोच्च अदालतबाट आउने निर्णयलाई सबै पक्षले सम्मान गर्नुपर्ने बताउँदै अदालतको निर्णयपछि पनि पार्टीभित्र संवाद र सहमतिको बाटो खुला राख्नुपर्नेमा जोड दिए।
कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढाउन नेतृत्वले आफ्नो कार्यशैलीमा समेत सुधार गर्नुपर्ने खड्काको धारणा छ।
पार्टीभित्रका असन्तुष्ट पक्षलाई बाहिर राखेर भन्दा उनीहरूका जायज माग सम्बोधन गर्दै संस्थागत प्रक्रियामार्फत समाधान खोज्नु नै उपयुक्त हुने उनले बताए।
खड्काले कांग्रेसलाई बलियो बनाउन सबै पक्ष जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै आगामी महाधिवेशनलाई पार्टी एकता, विधि र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।


























