काठमाडौं । भौगोलिक रूपमा अत्यन्तै विकट मानिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा आधारभूत पूर्वाधार विकास तथा सामाजिक सुधारका कामले गति लिइ रहेको छ। स्थानीय नागरिकको दैनिक जीवन सहज बनाउँदै गाउँमै शिक्षा, स्वास्थ्य, खानेपानी र यातायातको पहुँच विस्तार गर्ने उद्देश्यले वडा कार्यालयले विभिन्न योजनालाई प्राथमिकताका साथ अघि बढाएको हो।
वडाध्यक्ष ङिमगेली शेर्पाका अनुसार वडाका विभिन्न बस्ती तथा टोलमा सडक सञ्जाल विस्तारसँगै सुरक्षित गोरेटो तथा पैदलमार्ग निर्माणलाई प्राथमिकता दिइएको छ। कठिन भौगोलिक अवस्थाका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई सहज हुने गरी आवश्यक स्थानमा बाटो निर्माण तथा स्तरोन्नतिको काम भइरहेको वडा अध्यक्ष शेर्पाले बताए
वडाले नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको छ। रोल्वालिङ क्षेत्रका हिमाली बस्ती बेदिङ, रिकु र टासिनाम लगायतका क्षेत्रमा घरघरमा खानेपानीका धारा निर्माण गरी पानी स्वच्छ वितरण सुरु गरिएको छ।खानेपानीको पहुँच विस्तार भएपछि स्थानीयको दैनिक जीवनमा सहजता आएको वडाको भनाइ छ।आगामी दिनमा वडाभित्रका बाँकी सबै टोल तथा घरधुरीमा समेत खानेपानीको धारा पुर्याउने लक्ष्य राखिएको वडा अध्यक्ष ङिमागेली शेर्पा बताए
भौतिक पूर्वाधार विकाससँगै वडाले शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ। विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराउने तथा अध्ययनप्रति आकर्षण बढाउने उद्देश्यले छात्रवृत्ति तथा विद्यालय पोसाक वितरण कार्यक्रम सञ्चालन गरि विद्यार्थीको मनोबल बढाउने कार्यले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको वडाध्यक्ष शेर्पाले बताएका छन।
विकट भूगोलका कारण विकास निर्माणमा चुनौती रहे पनि स्थानीय नागरिकको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर काम अघि बढाइएको र गौरीशङ्कर–९ मा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाको पहुँच विस्तार हुँदै गएसँगै लामो समयदेखि भौगोलिक विकटताको समस्या भोग्दै आएका स्थानीयमा विकासप्रतिको आशा बढेको छ। आगामी दिनमा वडाका सबै बस्तीलाई आधारभूत पूर्वाधार र सेवासँग जोड्दै समृद्ध वडा निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष शेर्पाले बताएका छ।


























