काठमाडौं – पर्वतारोही गाइड दावा गेल्जीले नेपालमा पर्वतारोहण क्षेत्रको विकास र प्रवर्द्धनका लागि राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दै स्पष्ट नीति र आवश्यक सहयोग गर्नुपर्ने बताएका छन्। पछिल्लो समय पर्वतारोहण क्षेत्रमा राज्यको दृष्टिकोण सहयोगीभन्दा बढी कर तथा शुल्क केन्द्रित देखिएको भन्दै उनले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन्।
दावागेल्जीका अनुसार पर्वतारोहणमा लाग्ने विभिन्न कर तथा शुल्क बढ्दै जाँदा नेपालमा विदेशी पर्यटकका लागि पर्वतारोहण महँगो बन्दै गएको छ। यसको प्रत्यक्ष असर आरोहण कम्पनी, पर्वतीय गाइड, शेर्पा तथा हिमाली क्षेत्रमा काम गर्ने अन्य श्रमिकमा परेको उनको भनाइ छ।
‘अहिले प्रतिस्पर्धाको समयमा कर र शुल्क बढाउँदै जाने हो भने विदेशी पर्यटकको आकर्षण घट्न सक्छ,’ उनले भने, ‘यसपालि मनास्लुमा धेरैजसो कम्पनीका ग्राहक घटिरहेका छन्। ग्राहक घटेपछि त्यसको प्रत्यक्ष असर नेपाली श्रमिकको रोजगारीमा पर्छ।’
उनले विदेशी पर्यटक घट्नुमा नेपालभित्रको प्रतिस्पर्धा मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षा वातावरणले समेत प्रभाव पारेको बताए। पाकिस्तानमा भएको ठूलो घटनापछि हिमाल आरोहण र साहसिक पर्यटनमा जोखिमको धारणा बढेको भन्दै उनले नेपाल सरकारले निजी क्षेत्रसँग समन्वय गरेर नेपाल सुरक्षित गन्तव्य हो भन्ने सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने बताए।
‘सरकारले निजी कम्पनी र पर्यटन व्यवसायीसँग समन्वय गरेर नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने राम्रो सन्देश दिन सक्यो भने पर्यटकको मनोबल बढ्छ,’दावा गेल्जीले भने।
दावागेल्जीले नेपालमा नयाँ हिमाल तथा पर्यटकीय गन्तव्यको खोज, अनुसन्धान र प्रवर्द्धनमा सरकारले निजी क्षेत्रलाई आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने बताए।
उनका अनुसार नयाँ पिक खोल्ने, त्यसको अनुसन्धान गर्ने र आरोहणका लागि आवश्यक तयारी गर्ने सम्पूर्ण खर्च निजी क्षेत्रले मात्र व्यहोर्न कठिन हुन्छ।
‘नयाँ पिक खोल्दा अहिले अधिकांश खर्च व्यवसायी आफैंले गर्नुपर्छ। सरकारले २०, ३० वा ५० प्रतिशतसम्म सहयोग गर्ने व्यवस्था गरिदियो भने नयाँ गन्तव्य खोल्न व्यवसायीलाई ठूलो हौसला मिल्छ,’ उनले भने।
सरकारले पर्वतारोहणसम्बन्धी तालिम तथा दक्ष जनशक्ति उत्पादनमा केही काम गरे पनि त्यसलाई अझ व्यापक बनाउनुपर्ने उनको भनाइ छ। हिमाली क्षेत्रमा काम गर्ने गाइड, शेर्पा तथा अन्य श्रमिकलाई आवश्यक तालिम, सुरक्षा तथा सीप विकासमा सरकारी लगानी बढाउनुपर्ने उनले बताए।
मार्चदेखि मे र सेप्टेम्बरसम्मको समय पर्यटनका लागि महत्वपूर्ण
शेर्पाको अनुसार नेपालमा पर्यटनका लागि मुख्यतः दुईवटा सिजन महत्वपूर्ण छन्। मार्च, अप्रिल र मे तथा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई पर्यटकका लागि उपयुक्त समय मानिन्छ।
हिमाल तथा प्राकृतिक दृश्य राम्रो देखिने भएकाले विदेशी पर्यटकको रोजाइमा पर्ने उनले बताए। वसन्तयाममा पनि लालीगुराँससहित विभिन्न फूल फुल्ने भएकाले नेपाल भ्रमणका लागि आकर्षक हुने उनको भनाइ छ।
पर्वतारोहणमा भने हिमालअनुसार उपयुक्त समय फरक हुने उनले बताए। सगरमाथाका लागि मार्च, अप्रिल र मे महत्वपूर्ण सिजन भए पनि मनास्लुजस्ता हिमालका लागि अगस्टको अन्त्यदेखि सेप्टेम्बर र अक्टोबरसम्मको समय उपयुक्त हुने उनले बताए।
तर हिमालमा जोखिम कुनै निश्चित महिनामा मात्र सीमित नहुने उनको भनाइ छ। मौसम, हिमपात, हावाहुरी तथा अन्य प्राकृतिक अवस्थाका कारण जुनसुकै समयमा जोखिम आउन सक्ने भएकाले आरोहणमा सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको उनले बताए।
गेल्जीले एक जना विदेशी पर्वतारोही नेपाल आउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठूलो संख्यामा नेपालीले रोजगारी पाउने बताए।
उनका अनुसार विशेषगरी सगरमाथा आरोहणका लागि आउने एक जना विदेशी पर्यटकबाट यातायात, होटल, पसल, गाइड, शेर्पा, भरिया, आरोहण कम्पनीलगायत विभिन्न क्षेत्रमा गरी करिब ५० जनासम्मले रोजगारी पाउन सक्छन्।
‘एउटा विदेशी पर्यटक हिमाल चढ्न आउँदा त्यसको लाभ हिमालमा काम गर्ने श्रमिकले मात्र होइन, एयरपोर्टदेखि होटल, यातायात, पसललगायत धेरै क्षेत्रमा पुग्छ,’ उनले भने, ‘समग्रमा हेर्दा एउटा आरोहीबाट करिब ५० जनासम्मले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउन सक्छन।
विदेशी पर्वतारोहीले नेपालमा गर्ने खर्च भने हिमाल, आरोहण कम्पनी, सेवा सुविधा र समूहको आकारअनुसार फरक पर्ने गेल्जीले बताए।
उनका अनुसार कम्पनीले उपलब्ध गराउने सेवा, आरोहणको हिमाल, व्यक्तिगत वा समूहमा आउने पर्यटकलगायतका आधारमा खर्च फरक हुन्छ। सामान्यतया एउटा विदेशी पर्वतारोहीले नेपालमा आरोहणका क्रममा करिब ४० लाखदेखि ७०–८० लाख रुपैयाँसम्म खर्च गर्न सक्ने उनले बताए।
उनले नेपालले पर्वतारोहणलाई केवल राजस्व संकलनको माध्यमका रूपमा नभई रोजगारी, पर्यटन प्रवर्द्धन र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्नेमा जोड दिए।
‘पर्वतारोहणबाट व्यवसायी मात्रै लाभान्वित हुँदैनन्। यसले हजारौँ नेपालीको रोजगारी र आम्दानीसँग प्रत्यक्ष सम्बन्ध राख्छ। त्यसैले राज्यले व्यवसायीलाई पेल्नेभन्दा पनि संरक्षण, सहजीकरण र प्रवर्द्धन गर्न आवश्यक रहेको पर्बतारोही गाइड दावा गेल्जीले बताए।


























