काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका पूर्वअध्यक्ष नरेश गेलालले मञ्चबाट राजीनामा दिएका छन्। मञ्चको स्थापनाकालदेखि विभिन्न जिम्मेवारीमा रहेर काम गरेका गेलालले पछिल्लो समय आफ्नो आत्मसम्मानमा चोट पुग्ने अवस्था सिर्जना भएको भन्दै मञ्चको आबद्धता त्यागेको जनाएका छन्।
मञ्चका अध्यक्षलाई सम्बोधन गरी दिएको राजीनामा पत्रमा गेलालले आफू लामो समयदेखि संस्थाको विभिन्न जिम्मेवारीमा रहेर मञ्चको हित र उद्देश्यअनुरूप काम गर्दै आएको उल्लेख गरेका छन्। संस्थाको स्थापनाकालदेखि संस्थापक सचिवको जिम्मेवारी सम्हालेका उनले त्यसपछि महासचिव, अध्यक्षलगायतका जिम्मेवारीमा रहेर संस्थाले दिएको जिम्मेवारी आफ्नो योग्यता र क्षमताले भ्याएसम्म निर्वाह गरेको बताएका छन्।
तर पछिल्लो केही समययता मञ्चको जिम्मेवार पदमा रहेका केही साथीहरूबाट आफूलाई लक्षित गरी आत्मसम्मानमा चोट पुग्ने खालका टिप्पणी भएको गेलालको भनाइ छ। त्यस्तै, संस्थापककालदेखि नै सदस्यका रूपमा रहेको व्यक्तिको समेत आवश्यकता महसुस हुन छाडेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
“आजकै मितिदेखि यस प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको आबद्धता त्यागेको” भन्दै गेलालले आफ्नो निर्णयबारे मञ्चलाई जानकारी गराएका छन्।
गेलालले मञ्चमा रहँदा आफूलाई प्राप्त भएको सहयोग, साथ र सम्मानका लागि सबैप्रति आभारसमेत व्यक्त गरेका छन्। साथै संस्थाको आगामी यात्रा सफल रहोस् भन्दै उत्तरोत्तर प्रगति र उन्नतिको शुभकामना दिएका छन्।
वैदेशिक रोजगार व्यवसायीहरूको संगठनमा लामो समयदेखि सक्रिय रहेका गेलालको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ। मञ्चको संस्थापक तहदेखि नेतृत्वसम्मको जिम्मेवारी सम्हालिसकेका व्यक्तिले आबद्धता त्याग्नुले संगठनभित्रको पछिल्लो गतिविधि र कार्यशैलीमाथि समेत प्रश्न उठाएको छ।
यद्यपि, गेलालले राजीनामा पत्रमा मञ्च वा कुनै व्यक्तिविरुद्ध विस्तृत आरोप लगाएका छैनन्। उनले आफूले संस्थाका लागि लामो समय योगदान दिएको स्मरण गर्दै पछिल्लो परिस्थितिले आफ्नो आत्मसम्मानमा चोट पुगेको र संस्थामा आफ्नो आवश्यकता महसुस हुन छाडेको कारण आबद्धता त्यागेको स्पष्ट पारेका छन्।


























