काठमाडौं– वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन राज्यका नीति, कानुन र सम्बन्धित निकायको कार्यशैलीमा सुधार आवश्यक रहेको वैदेशिक रोजगार लेखापढी कानुन व्यवसायी संघका अध्यक्ष खड्गप्रसाद शिवाकोटीले बताएका छन्।
शिवाकोटीले वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित समस्या समाधानका लागि राज्यको ऐन–कानुनसँगै वैदेशिक रोजगार विभागको कार्यप्रक्रियालाई पनि व्यवहारिक बनाउनुपर्ने बताए। वैदेशिक रोजगार विभाग नै यस क्षेत्रसँग सम्बन्धित कामको नियमन तथा व्यवस्थापन गर्ने प्रमुख निकाय भएकाले व्यवसायीका व्यावहारिक समस्या बुझेर सेवा प्रवाह सुधार गर्नुपर्ने उनको भनाइ छ।
“राज्यको नियम–कानुनले मात्रै हो कि विभागको क्रियाकलापले हो, समस्या कहाँ छ भनेर बुझ्नुपर्छ। सबै पक्षलाई बुझेर मिलाउन सक्नुपर्यो,” शिवाकोटीले भने।
पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समस्या बढ्दै जाँदा व्यवसायीहरू आन्दोलनमा समेत उत्रिनुपर्ने अवस्था आएको उनले बताए। व्यवसायीका माग र समस्यालाई समयमै सम्बोधन गर्न नसक्दा समस्या थप जटिल बन्दै गएको उनको भनाइ छ।
उनले सरकार र व्यवसायीबीच नियमित संवाद र समन्वय आवश्यक रहेको बताउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले व्यवसायीका सुझावलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए।
“हामी राज्यलाई ध्यानाकर्षण गराउन चाहन्छौँ। विभाग र मन्त्रालयले व्यवसायीका समस्या सुन्नुपर्छ। नियम–कानुन बनाउँदा पनि व्यवहारिक पक्षलाई हेर्नुपर्छ,” उनले भने।
शिवाकोटीले वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षणसँगै समग्र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नीतिगत सुधार आवश्यक रहेको बताए। सरकारले पनि वैदेशिक रोजगारसम्बन्धी सेवा तथा प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएको छ।
उनका अनुसार व्यवसायीलाई अनावश्यक प्रशासनिक झन्झटबाट मुक्त गराउँदै छिटो र सहज सेवा उपलब्ध गराउने, समस्या देखिएका विषयमा तत्काल छलफल गर्ने र नीति निर्माणमा व्यवसायीको सहभागिता बढाउने हो भने वैदेशिक रोजगार क्षेत्र थप व्यवस्थित बनाउन सकिन्छ।



























