काठमाडौं । एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपालको १४औँ वार्षिक साधारणसभा शनिबार काठमाडौंमा हुने भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने साधारणसभामा होटल तथा पर्यटन व्यवसायका समसामयिक समस्या, व्यवसायीको हकहित, पर्यटन प्रवर्द्धन र संस्थागत विकासका विषयमा छलफल हुने संघले जनाएको छ।
संघका अनुसार साधारणसभामा उत्कृष्ट होटल तथा पर्यटन व्यवसायी र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने व्यवसायीका छोराछोरीलाई सम्मान र संघको संस्थागत विकास, व्यवसायीको हकहित र संगठन सुदृढीकरणमा योगदान पुर्याएका पूर्वकार्यसमिति सदस्य तथा सल्लाहकारलाई समेत सम्मान गर्ने कार्यक्रम छ।
संघका महासचिव अनिश बानियाँका अनुसार साधारणसभामा सरकारी निकाय, पर्यटन क्षेत्र, होटल तथा पर्यटन व्यवसायी र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहने बताए।
संघका अनुसार साधारणसभामा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव धमला विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्। त्यस्तै पर्यटन मन्त्रालयका पर्यटन विज्ञ एवं वातावरणविद् पीके शेर्पा, गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काजिमान सुब्बा, होटल व्यवसायी महासंघ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशलगायतका प्रतिनिधिको समेत सहभागिता रहने संघले जनाएको छ।
होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य, संघसँग आबद्ध विभिन्न इकाइका प्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका वडा नं. ७, ८ र ९ का वडाध्यक्षलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको संघले जनाएको छ। नेपाल प्रहरी, पर्यटन प्रहरी, ट्राफिक प्रहरी, पशुपति क्षेत्र विकास कोषलगायतका प्रतिनिधिको सहभागिताले होटल तथा पर्यटन क्षेत्रसँग जोडिएका सुरक्षा, पर्यटक व्यवस्थापन, धार्मिक तथा पर्यटकीय क्षेत्रको व्यवस्थापन र यातायातका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
साधारणसभामा संघको वार्षिक गतिविधि तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुका साथै होटल तथा पर्यटन व्यवसायले भोगिरहेका समस्या, व्यवसाय सञ्चालनका चुनौती, पर्यटन क्षेत्रको सम्भावना तथा व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीतिगत र व्यावहारिक पहलका विषयमा छलफल गरिने संघले जनाएको छ। साथै व्यवसायीका समस्या समाधान गर्दै होटल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र चलायमान बनाउन सरकार तथा सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा साधारणसभामा राखिने संघले जनाएको छ।
संघका अध्यक्ष सरोज आलेले साधारणसभामा सहभागी हुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सम्पूर्ण सहभागीलाई निर्धारित समयमै उपस्थित हुन आग्रह गरेका छन्। साधारणसभा संघको आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले सबैको सक्रिय सहभागिताका लागि उनले आग्रह गरेका हुन्।
एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपाल वि.सं. २०६९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भई होटल तथा गेस्टहाउस व्यवसायीलाई संगठित गर्दै व्यवसायीका हकहित तथा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै आएको संस्था हो ।
सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिँदै व्यवसायीबीच एकता, सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आएको संघले १४औँ वार्षिक साधारणसभालाई संस्थागत सुदृढीकरणसँगै व्यवसायीका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्दै आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।



























