दोलखा । रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेडले दोलखा र जनकपुरबीच यातायात सेवा विस्तार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेको छ।
सहकारी संस्थाका अध्यक्ष मिङ्गुर शेर्पाले दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर र जनकपुरस्थित जानकी मन्दिरलाई धार्मिक पर्यटनका माध्यमबाट जोड्ने उद्देश्य रहेको बताए। नियमित दिवा वा रात्रिकालीन यातायात सेवा सञ्चालन गरी तीर्थयात्री तथा पर्यटकको आवागमनलाई सहज बनाउने योजना रहेको उनको भनाइ छ।
दोलखा र जनकपुर दुवै धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य भएकाले यी दुई स्थानबीच प्रत्यक्ष यातायात सम्पर्क विस्तार गर्न सके आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने शेर्पाले बताए।
उनका अनुसार धार्मिक पर्यटकलाई एक गन्तव्यबाट अर्को गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण निर्माण गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय र अर्थतन्त्रलाई समेत चलायमान बनाउने लक्ष्य राखिएको छ।
स्थानीय यातायात संस्थाका रूपमा विभिन्न चुनौती र विवादका बाबजुद निरन्तर सेवा विस्तारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै अध्यक्ष शेर्पाले दोलखा–जनकपुर धार्मिक पर्यटकीय सम्बन्ध विस्तारलाई संस्थाले प्राथमिकताका साथ अघि बढाउने बताए।
दोलखाको भीमेश्वर मन्दिर र जनकपुरको जानकी मन्दिरलाई यातायात सेवामार्फत जोड्ने योजना सफल भएमा धार्मिक आस्थाका पर्यटक तथा तीर्थयात्रीलाई नयाँ यात्रा विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।



























