काठमाडौं । मलेसियामा नेपाली श्रमिक भर्नाका लागि प्रयोग हुँदै आएको विदेशी कामदार व्यवस्थापन प्रणाली (FWCMS) मा सीमित व्यवसायीलाई मात्रै आबद्ध गराइएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ। संघले २५ वटा व्यवसायी संस्थालाई हालका लागि आफ्नो सदस्यबाट निलम्बन गर्दै तीन दिनभित्र स्पष्टीकरण मागेको छ।
संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालमा वैधानिक रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका करिब १ हजार २ सय व्यवसायी तथा संस्थालाई समान अवसर र प्रतिस्पर्धाको अधिकार सुनिश्चित हुनुपर्नेमा FWCMS मा २५ वटा व्यवसायीलाई मात्रै आबद्ध गराइएको छ। यसबाट अन्य वैधानिक व्यवसायीलाई प्रक्रियाबाट बाहिर राखिएको संघको दाबी छ।
सीमित व्यवसायीलाई मात्र अवसर दिने व्यवस्थाले व्यवसायीबीच विभेद सिर्जना गर्नुका साथै वैदेशिक रोजगार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा र एकाधिकार बढाउने जोखिम रहेको संघले जनाएको छ। २५ इजाजतपत्रवालाको नाम एक्सेल सिटमा राखेर भ्रम सिर्जना गर्ने प्रयास भएको दाबीसमेत संघले गरेको छ।
संघको भदौ ६ गते बसेको आकस्मिक बैठकले FWCMS मा समावेश भएका २५ संस्थालाई सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो। ती संस्थालाई तीन दिनभित्र तथ्य, प्रमाण र सम्बन्धित कागजातसहित चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको संघले जनाएको छ।
FWCMS मा ती संस्था कसरी, कुन आधारमा तथा कसको पहल र समन्वयमा समावेश भए भन्ने विषयमा समेत संघले स्पष्ट जवाफ मागेको छ। त्यस क्रममा कुनै सम्झौता, आर्थिक कारोबार, कमिसन, शुल्क वा अन्य लाभ–सुविधाको आदानप्रदान भए–नभएकोबारे समेत स्पष्टीकरण दिन भनिएको छ।
तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए विधान, आचारसंहिता तथा प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने संघले चेतावनी दिएको छ।
संघले आवश्यक परे यस विषयसँग सम्बन्धित निर्णय, कागजात र प्रमाण वैदेशिक रोजगार विभाग, सम्बन्धित मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीका सम्बन्धित अनुसन्धान निकाय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पठाउने जनाएको छ। साथै, हालको कामकारबाही रोक्दै निष्पक्ष छानबिन तथा अनुसन्धानका लागि औपचारिक पहल गर्ने संघको भनाइ छ।
वैदेशिक रोजगार व्यवसाय कुनै व्यक्ति वा सीमित समूहको निजी स्वार्थमा सञ्चालन हुने क्षेत्र नभएको भन्दै संघले सिन्डिकेट, एकाधिकार र व्यावसायिक विभेदविरुद्ध आवश्यक परे निर्णायक संघर्षमा उत्रिने चेतावनी छ।
संघका महासचिव हिरा बहादुर डाँगी (हरि) र अध्यक्ष डिक बहादुर खत्री (कुमार) द्वारा जारी विज्ञप्तिमा वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, प्रतिस्पर्धात्मक र कानुनसम्मत बनाउन सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ।



























