काठमाडौं । ट्यालेन्ट इन्टरनेशनल म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सालिकराम अधिकारीले मलेसिया रोजगारीमा सीमित २५ व्यवसायी संस्थालाई केन्द्रमा राखेर सिन्डिकेट लागू गर्ने प्रयास भए त्यसविरुद्ध एकजुट भएर संघर्ष गर्ने चेतावनी दिएका छन्।
अधिकारीले सीमित समूहको स्वार्थका लागि मलेसिया रोजगारीको बजार नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने बताएका हुन्। सबै वैदेशिक रोजगार व्यवसायीलाई समान अवसरबाट वञ्चित गर्दै सीमित व्यक्तिको नियन्त्रणमा क्षेत्रलाई पुर्याउन खोजिए त्यसको प्रतिरोध गरिने उनले बताए।
‘यो सिन्डिकेट लागू गर्ने खेल हो,’ अधिकारीले भने, ‘२५ जना सिन्डिकेटधारीका विरुद्ध हामी सबै व्यवसायी एकताबद्ध भएर संघर्ष गर्छौं।’
उनले प्रस्तावित संघर्ष सरकारविरुद्ध नभई सिन्डिकेट लागू गर्न खोज्ने तथा त्यसमा संलग्न पक्षविरुद्ध केन्द्रित हुने स्पष्ट पारे। नेपाल सरकारले भने आफ्नो जिम्मेवारी पूरा गर्दै मुलुकभित्र तथा वैदेशिक रोजगार क्षेत्रमा कुनै पनि प्रकारको सिन्डिकेट हुन नदिन आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ।
अधिकारीका अनुसार यस विषयमा सम्बन्धित सरकारी निकायलाई ज्ञापनपत्र बुझाउने, वैदेशिक रोजगार व्यवसायीलाई एकताबद्ध गर्ने र आवश्यकताअनुसार आन्दोलनका थप कार्यक्रम अघि बढाउने तयारी छ।
मलेसिया रोजगारीका विषयमा सार्वजनिक रूपमा विवादमा आएका सूची तथा व्यवसायी संगठनमा आबद्ध व्यक्तिहरूले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने उनले बताए। आम व्यवसायीको हितविपरीत सिन्डिकेटको पक्षमा उभिने संगठनका सदस्यलाई आवश्यक कारबाही गर्नुपर्ने उनको माग छ।
‘आम व्यवसायीको अधिकारमाथि प्रहार गरेर सीमित व्यक्तिको रजाइँ चलाउन खोजिन्छ भने त्यसलाई स्वीकार गर्न सकिँदैन,’ अधिकारीले भने, ‘मलेसिया रोजगारीमा सबै योग्य व्यवसायीले समान अवसर पाउनुपर्छ।’
उनले मलेसिया रोजगारीको प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउनुपर्नेमा जोड दिँदै सीमित व्यवसायीलाई मात्र अवसर दिने कुनै पनि व्यवस्था आफूहरूलाई स्वीकार्य नहुने बताए।



























