काठमाडौं । श्रम, युवा तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सम्पूर्ण प्रवास चक्रलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन वैदेशिक रोजगार बोर्डलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
मन्त्री यादवले वैदेशिक रोजगार बोर्डको अनुगमन तथा अवलोकन गर्दै बोर्डको प्रगति, विद्यमान चुनौती तथा आगामी सुधारका प्राथमिकताबारे विस्तृत प्रस्तुतीकरण लिएका हुन्।
अनुगमनका क्रममा मन्त्री यादवले विदेश जाने निर्णय र पूर्वतयारीदेखि सुरक्षित प्रस्थान, विदेशमा श्रमिकको संरक्षण, संकटमा उद्धार, मृत्यु व्यवस्थापन, परिवारलाई सहयोग तथा स्वदेश फर्किएपछिको पुनःएकीकरणसम्मका सबै चरणमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समयमै पहिचान गरी समाधान गर्ने गरी सेवा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि श्रमिक मृत्युका घटनाको व्यवस्थित अभिलेखीकरण, केस ट्र्याकिङ तथा मृत्युका कारणको विश्लेषणलाई प्राथमिकताका साथ अघि बढाउन उनले निर्देशन दिए।
मन्त्री यादवले राष्ट्रिय प्रवासी स्रोत केन्द्रको सुदृढीकरण, एकीकृत डिजिटल केस व्यवस्थापन प्रणालीको सुधार तथा स्वास्थ्य र टेलिमेडिसिन सेवाको विस्तारमा समेत विशेष ध्यान दिन बोर्डलाई निर्देशन दिएका छन्।
त्यस्तै, विदेशमा समस्यामा परेका श्रमिकलाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउन सुरक्षित आवास केन्द्रको सञ्जाल विस्तार तथा श्रमिकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
मन्त्री यादवले वैदेशिक रोजगारीलाई केवल विदेश जाने र फर्किने प्रक्रियाका रूपमा नहेरी सम्पूर्ण प्रवास चक्रसँग जोडेर श्रमिकको संरक्षण र कल्याण सुनिश्चित गर्नुपर्ने बताए।
अनुगमनका क्रममा उनले श्रमिकको हकहितलाई केन्द्रमा राखेर काम गर्न बोर्डका अधिकारीलाई निर्देशन दिँदै भने, “श्रमिक र परिवारले समस्या पर्दा राज्य आफ्नो साथमा छ भन्ने अनुभूति गर्नुपर्छ।”
मन्त्री यादवले श्रमिक तथा उनीहरूका परिवारले भोग्नुपरेका समस्या समाधान गर्न सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
बोर्डको आगामी कार्ययोजनामा श्रमिक उद्धार, स्वास्थ्य सेवा, मृत्यु व्यवस्थापन, परिवार सहयोग, डिजिटल सेवा तथा स्वदेश फर्किएका श्रमिकको पुनःएकीकरणलाई प्राथमिकतामा राखेर अघि बढाउन मन्त्री यादवले निर्देशन दिएका छन्।



























