काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले मलेसियाको रोजगारी क्षेत्रमा पुनः सिण्डिकेट कायम गर्ने प्रयास भए त्यसविरुद्ध कडा प्रतिवाद गरिने चेतावनी दिएका छन्।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा आयोजित मलेसियाको सिण्डिकेटविरुद्ध खबरदारी भेला तथा हस्ताक्षर क्याम्पेनिङ कार्यक्रममा बोल्दै न्यौपानेले सिण्डिकेटसँग जोडेर नाम उल्लेख भएका व्यक्ति तथा संस्थाले हजारौं व्यवसायीमाझ सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका हुन्।
उनले सिण्डिकेटको आरोपमा नाम उल्लेख भएका पक्षले आफ्नो संलग्नताबारे स्पष्ट पार्नुपर्ने र सिण्डिकेट पुनःस्थापित गर्ने गतिविधि दोहोर्याउने प्रयास भए व्यवसायीहरू चुप लागेर नबस्ने चेतावनी दिए।
न्यौपानेले पैसा र शक्तिको आडमा राजनीति, समाज तथा व्यवसायमाथि नियन्त्रण गर्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। मानिसको मूल्यभन्दा पैसालाई ठूलो ठान्ने सोच समाजका लागि घातक हुने उनको भनाइ थियो।
उनले पार्टी, सरकार तथा विभिन्न संस्थामा पैसाको प्रभाव बढ्दै जाँदा सामान्य मानिस र व्यवसायीका आवाज ओझेलमा पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरे। “सबै कुरा पैसा मात्र होइन, मानिस, उसको श्रम र समाजप्रतिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” उनले भने।
न्यौपानेले जनताको हित, न्याय र समान अवसरका लागि सरकार जिम्मेवार हुनुपर्ने तथा धन र पहुँचका आधारमा मानिस वा व्यवसायीमाथि विभेद गर्न नहुने धारणा राखे।
कार्यक्रममा उनले सिण्डिकेटधारी पक्षले सार्वजनिक रूपमा माफी नमागे, आरोपित नाम फिर्ता लिने विषयमा स्पष्टता नदिए वा यस्ता गतिविधि दोहोर्याउने प्रपञ्च गरे त्यसको कडा प्रतिकार गरिने चेतावनीसमेत दिए।
उनले व्यवसायीहरूको धैर्य र सहनशीलतालाई कमजोरी नठान्न आग्रह गर्दै सिण्डिकेटको नाममा वैदेशिक रोजगार व्यवसायलाई पुनः नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने बताए। यस्ता गतिविधि निरन्तर दोहोरिए सम्बन्धित संस्था र व्यक्तिमाथि आक्रोशित व्यवसायीबाट भौतिक कारबाहीसमेत हुन सक्ने चेतावनी उनले दिएका छन्।



























