काठमाडौं । यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा कम्पनीले यसअघि नै राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार ती जिल्लाका अति प्रभावित क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पठाएर सम्बन्धित निकायमार्फत प्रभावित नागरिकलाई वितरण गरिएको थियो।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न सहयोग गरिएको कम्पनीले जनाएको छ। आवश्यक परेमा थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउनसमेत तयार रहेको यशोदा ग्रुपले जनाएको छ।
विपद्को यस घडीमा प्रभावित नागरिकलाई आवश्यक पर्ने अन्य सहयोगका लागि समेत समूह प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।



























