काठमाडौं । राष्ट्रिय आपूर्ति प्रणालीलाई प्रभावकारी र भरपर्दो बनाउन व्यवस्थित ढुवानी तथा लजिस्टिक प्रणाली आवश्यक रहेको ढुवानी व्यवसायी महासङ्घ नेपालका महासचिव पुष्पराज श्रेष्ठले बताएका छन् । उत्पादन गर्ने उद्योगदेखि उपभोक्ताको घरसम्म वस्तु सहज रूपमा पुर्याउन नसकिए उत्पादन, व्यापार र बजार तीनै क्षेत्र प्रभावित हुने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य संघले आयोजना गरेको ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तर्क्रियामा बोल्दै श्रेष्ठले ढुवानीलाई सामान ओसारपसार गर्ने व्यवसायका रूपमा मात्र नहेरी राष्ट्रिय आपूर्ति शृङ्खला र आर्थिक गतिविधिको महत्वपूर्ण हिस्साका रूपमा लिनुपर्ने बताए ।
‘आपूर्ति प्रणालीको मेरुदण्ड भनेको व्यवस्थित ढुवानी तथा लजिस्टिक प्रणाली हो,’ उनले भने, ‘उत्पादन गर्ने उद्योगदेखि उपभोक्ताको घरसम्म वस्तु सहज रूपमा पुग्न सकेन भने उत्पादन, व्यापार र बजार तीनै प्रभावित हुन्छन् ।’
श्रेष्ठले सडक निर्माण तथा विस्तारसँगै सडकको क्षमता, भारवहन क्षमता, वैकल्पिक मार्ग, मर्मतसम्भार र यातायात व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताए । प्रमुख सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर उद्योग, व्यापार र उपभोक्तासम्म पुग्ने भन्दै उनले कृष्णभीरमा गएको पहिरो त्यसको पछिल्लो उदाहरण भएको बताए ।
काठमाडौंलगायत प्रमुख व्यापारिक तथा औद्योगिक क्षेत्रमा मालवाहक सवारीका लागि व्यवस्थित पार्किङ र लोड–अनलोड केन्द्रको अभाव रहेको उनले बताए । पार्किङको व्यवस्था नहुँदा ट्रक सडकमा रोक्नुपर्ने र त्यसले ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना गरिरहेको उनको भनाइ छ ।
प्रमुख व्यापारिक तथा औद्योगिक क्षेत्रमा ट्रक पार्किङ, लोडिङ–अनलोडिङ र लजिस्टिक हब निर्माणका लागि स्पष्ट नीति आवश्यक रहेको श्रेष्ठले बताए । यस विषयमा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग समेत पटक–पटक छलफल भइरहेको उनले जानकारी दिए ।
ढुवानी लागत बढ्दै गए पनि त्यसअनुसार वैज्ञानिक रूपमा भाडा निर्धारण गर्ने प्रणाली व्यवस्थित हुन नसकेको श्रेष्ठले बताए । इन्धन, चालक तथा सहचालकको पारिश्रमिक, मर्मतसम्भार, टायर, बिमा, कर, बैंक ब्याजलगायत सञ्चालन खर्च बढिरहेको अवस्थामा यी सबै लागतलाई समेटेर वैज्ञानिक ढंगले फ्रेट रेट निर्धारण गर्नुपर्ने उनले बताए ।
ढुवानी भाडा बढ्नुमा ट्रक भाडा वृद्धि मुख्य कारण रहेको उनको दाबी छ । ‘ट्रकको भाडा वृद्धि हुनेबित्तिकै ढुवानीको भाडा पनि वृद्धि हुन्छ,’ उनले भने ।
कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक तथा जोखिमपूर्ण सडक प्रयोग गर्नुपर्दा चालक तथा सहचालकले बढी भाडा मागेको हुन सक्ने उनले बताए । ढुवानी व्यवसायीले भने मनपरी भाडा नलिएको उनको दाबी छ ।
श्रेष्ठले राष्ट्रिय लजिस्टिक मास्टर प्लानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै काठमाडौं उपत्यका तथा प्रमुख औद्योगिक र व्यापारिक सहरमा व्यवस्थित ट्रक टर्मिनल तथा लजिस्टिक हब निर्माण गर्नुपर्ने बताए । ढुवानी क्षेत्रमा डिजिटल प्रणाली लागू गरी लोड र ट्रक उपलब्धता, रुट, ढुवानी कागजात, बिलिङ तथा ट्र्याकिङलाई क्रमशः डिजिटल बनाउनुपर्ने उनको सुझाव छ ।
नीति निर्माणको चरणदेखि नै निजी क्षेत्र तथा ढुवानी क्षेत्रका प्रतिनिधिलाई सहभागी गराउनुपर्नेमा पनि उनले जोड दिए ।
नजिकिँदै गरेका दसैं–तिहारजस्ता ठूला चाडपर्वमा वस्तुको माग बढ्ने भएकाले आपूर्ति प्रणालीमा थप दबाब पर्न सक्ने श्रेष्ठले बताए । चाडपर्वका बेला वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सडक, ढुवानी, पार्किङ तथा लजिस्टिक पूर्वाधारलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।



























