काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा नेपालका २५ वटा इजाजतप्राप्त संस्थालाई मुख्य संस्था र २५० वटा संस्थालाई सहायक संस्थाका रूपमा सूचीकरण गरिएको विषयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) नेपालको ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार) नेतृत्वको प्रतिनिधिमण्डलले आईओएम नेपालका कन्ट्री डाइरेक्टरसँग भेट गरी मलेसियाको उक्त रोजगार व्यवस्थापन प्रणालीका विषयमा विस्तृत छलफल तथा ध्यानाकर्षण गराएको हो।
भेटमा उक्त प्रणालीको वर्तमान व्यवस्थाबाट सीमित संस्थाको एकाधिकार कायम हुन सक्ने अवस्था अन्त्य गर्नुपर्नेमा संघले जोड दिएको छ। साथै, प्रणालीका कारण नेपाली श्रमिकमाथि थप आर्थिक भार पर्न नहुने र वैदेशिक रोजगार व्यवसायीले समान अवसर तथा प्रतिस्पर्धाका आधारमा आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने विषयमा समेत छलफल भएको संघले जनाएको छ।
संघका महासचिव हिराबहादुर डाँगी (हरि) अनुसार मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र सबै व्यवसायीका लागि समान पहुँच हुने बनाउन आवश्यक छ। सीमित संस्थालाई मात्र मुख्य संस्थाका रूपमा तोक्दा अन्य इजाजतप्राप्त व्यवसायीलाई असमान व्यवहार हुन सक्ने भन्दै संघले त्यसतर्फ आईओएमको ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।



























