काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार राजेन्द्र साँखीले पार्टीको निर्णय तहमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।
बुढानीलकण्ठ–६ निवासी साँखीले युवालाई संगठनका गतिविधि र निर्वाचनका बेला मात्र परिचालन गर्ने प्रवृत्तिको अन्त्य गरी नीति निर्माण तथा नेतृत्वको जिम्मेवारीमा समेत अवसर दिनुपर्ने धारणा राखेका हुन्।
उनले पार्टीको भविष्य युवासँग जोडिएको अवस्थामा त्यसको दिशानिर्धारण गर्ने प्रक्रियामा पनि नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको र युवाको अनुभवलाई सम्मान गर्दै उनीहरुको ऊर्जा, सोच र क्षमतालाई पार्टी नेतृत्वसँग जोड्नुपर्ने उनले बताएका छन्।
साँखीले महाधिवेशनमा युवाको सहभागिता नारामा सीमित नराखी व्यवहारमै प्रतिनिधित्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्र गुटगत राजनीतिभन्दा माथि उठेर पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
‘सबै अट्ने, देश सबैलाई जोड्ने कांग्रेस’को अवधारणालाई अघि बढाउँदै आफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेको साँखीले बताएका छन्। उनले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदा कांग्रेसलाई समयअनुकूल र गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेका छन्।
१५औँ महाधिवेशनलाई युवा सहभागिता, जिम्मेवार नेतृत्व र नयाँ सोचलाई संस्थागत गर्ने अवसरका रूपमा अघि बढाउनुपर्ने साँखीको भनाइ छ।




























