काठमाडौं । युवालाई श्रम बजारको मागअनुसार सीपयुक्त बनाउँदै आन्तरिक रोजगारीका अवसर विस्तार गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउने विषयमा छलफल भएको छ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष तथा भोइथ की प्रबन्ध निर्देशक रितु सिंह वैद्यले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग मन्त्रालयमा भेट गरी सीप विकास र रोजगारी प्रवर्द्धनका विषयमा छलफल गरेका हुन्।
भेटका क्रममा निजी क्षेत्र रोजगारी सिर्जनाको प्रमुख आधार भएकाले श्रम बजारमा आवश्यक जनशक्तिको पहिचान र सोहीअनुसार सीप विकासमा निजी क्षेत्रको अनुभव उपयोग गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
विशेषगरी युवालाई बजारको मागअनुसारको सीपसँग जोड्ने, निजी क्षेत्रमार्फत रोजगारीका अवसर विस्तार गर्ने तथा सरकारका सीप र रोजगारसम्बन्धी कार्यक्रमलाई रोजगारदाताको आवश्यकतासँग जोड्ने विषयमा कुराकानी भएको हो।
सरकारले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्दै रोजगारदाता र सीप तथा रोजगार खोजकर्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रम अघि बढाइरहेको छ। मन्त्रालयले रोजगारदाता र सीप/रोजगार खोजकर्तालाई सीप तथा रोजगारीका अवसरमा जोड्ने पहललाई समेत प्राथमिकतामा राखेको छ।
नेपालमा रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहँदै आएको छ। उद्योग, व्यवसाय तथा सेवा क्षेत्रमा आवश्यक जनशक्तिको सीप, दक्षता र कार्यक्षमताबारे प्रत्यक्ष जानकारी हुने भएकाले सीप विकासका कार्यक्रम निर्माण गर्दा निजी क्षेत्रसँगको सहकार्यले तालिम र श्रम बजारबीचको दूरी घटाउन सक्ने अपेक्षा गरिएको छ।
छलफलमा कोशी प्रदेशमा आयोजना हुन लागेको सीप तथा रोजगार मेलामा निजी क्षेत्रको सहभागिता र सहकार्यका सम्भावनाबारे पनि कुराकानी भएको छ। रोजगार मेलामार्फत रोजगारदाता र रोजगारी खोजिरहेका युवालाई एउटै प्लेटफर्ममा ल्याउने तथा आवश्यक सीप र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी गराउने लक्ष्य राखिएको छ।
मन्त्रालयले आगामी दिनमा सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच सहकार्य विस्तार गर्दै युवालाई रोजगारीका लागि आवश्यक सीप उपलब्ध गराउने तथा स्वदेशमै रोजगारीका अवसर बढाउने दिशामा कार्यक्रम अघि बढाउने जनाएको छ।
सरकारले सीप विकासलाई केवल तालिम प्रदान गर्ने विषयमा सीमित नगरी सीप–रोजगारदाता–रोजगारीबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने नीति अघि बढाएमा आन्तरिक श्रम बजारको आवश्यकता सम्बोधन गर्न सकिने अपेक्षा गरिएको छ। मन्त्रालयले यसै उद्देश्यले रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाहको व्यवस्था अघि बढाएको छ।
भेटमा सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य गर्दै युवाका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलताका क्षेत्रमा संयुक्त पहल अघि बढाउने विषयमा समेत छलफल भएको जनाएको छ।




























