काठमाडौं । भिजन एन्ड भ्यालु ओभरसिज प्रालिले वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिका लागि पोखरा र चितवनमा निःशुल्क रोजगारीसम्बन्धी परामर्श तथा छनोट कार्यक्रम आयोजना गर्ने भएको छ।
कम्पनीका अनुसार असोज १३ गते पोखरा र असोज १४ गते चितवनमा कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न मुलुकमा उपलब्ध रोजगारीका अवसर, आवश्यक सीप, क्षमता तथा योग्यताबारे जानकारी दिनुका साथै इच्छुक उम्मेदवारको प्रत्यक्ष रूपमा छनोट प्रक्रिया अघि बढाइनेछ।
पोखरामा बाजेको सेकुवा कर्नर र चितवनको भरतपुरस्थित न्युरोडको होटल सिद्धार्थमा कार्यक्रम आयोजना हुनेछ। दुवै स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम सञ्चालन हुने कम्पनीले जनाएको छ।
विभिन्न मुलुकका एडीएनएस तथा हस्पिटालिटिसम्बन्धी रोजगारीमा जान इच्छुक व्यक्तिले आफ्नो सीप, क्षमता र योग्यताअनुसार उपलब्ध अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। इच्छुक उम्मेदवारले कार्यक्रमअघि नै आफ्नो नाम टिपाउनसमेत सक्नेछन्।
कम्पनीका अध्यक्ष पदम राज पौंडेलका अनुसार भिजन एन्ड भ्यालु ओभरसिजले विगतदेखि नै वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिलाई निःशुल्क रोजगारीसम्बन्धी सेवा तथा परामर्श उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा पनि वैदेशिक रोजगारलाई जिम्मेवार र पारदर्शी ढंगले अघि बढाउने कम्पनीको योजना रहेको उनले बताए।
‘सम्बन्धित स्थानमै पुगेर योग्य कामदारको छनोट गर्ने व्यवस्था गर्दा वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिको अनावश्यक समय र खर्च बचत हुन्छ,’ पौंडेलले भने, ‘कामदारलाई आर्थिक क्षति तथा अनावश्यक हैरानी नहोस् भन्ने विषयलाई कम्पनीले आफ्नो जिम्मेवारीका रूपमा लिएको छ।’
उनका अनुसार उम्मेदवारको सीप, क्षमता र योग्यताअनुसार उपयुक्त रोजगारीको अवसरबारे स्पष्ट जानकारी उपलब्ध गराउने तथा वैदेशिक रोजगारीको प्रक्रियामा अनावश्यक आर्थिक भार नपर्ने वातावरण बनाउन कम्पनीले प्राथमिकता दिएको छ।
कम्पनीले पोखरा र चितवनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिलाई अग्रिम रूपमा नाम टिपाउन तथा आवश्यक जानकारीका लागि कम्पनीसँग प्रत्यक्ष सम्पर्क गर्न अनुरोध गरेको छ।




























