काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टी संगठनमा युवाको सहभागिता उल्लेख्य रूपमा बढाएको छ । नयाँ विधानअनुसार देशभर ३५ वर्षमुनिका झण्डै ४४ हजार युवा विभिन्न पदीय जिम्मेवारीमा निर्वाचित भएका छन् भने करिब एक लाख युवा विभिन्न पदका लागि प्रतिस्पर्धामा सहभागी भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार ३५ वर्षमुनिका ४३ हजार ९८६ जना युवाले क्षेत्रीय प्रतिनिधि तथा वडा कार्यसमिति सदस्यका रूपमा पदीय जिम्मेवारी पाएका छन् । उनका अनुसार नेपाली राजनीतिक दलको इतिहासमै एकैपटक यति ठूलो संख्यामा युवाले संगठनात्मक जिम्मेवारी पाएको यो पहिलो घटना हो ।
नयाँ विधानले प्रत्येक वडाबाट ३५ वर्षमुनिका युवालाई क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुने व्यवस्था गरेको छ । ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाका दरले २० हजार २२९ जना युवा क्षेत्रीय प्रतिनिधि बन्ने व्यवस्था भए पनि क्रियाशील सदस्यताको संख्याका आधारमा एक वडाबाट बढीमा सात जनासम्म निर्वाचित हुन सक्ने प्रावधान छ । औसत पाँच जनाका दरले हिसाब गर्दा करिब ३३ हजार ७१५ जना युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएको जनाइएको छ ।
त्यसैगरी गाउँपालिकाको प्रत्येक वडाबाट एक जना र नगरपालिकाको प्रत्येक वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित भएका छन् । गाउँपालिकाका ३ हजार २१५ वडा र नगरपालिकाका ३ हजार ५२८ वडाबाट क्रमशः ३ हजार २१५ र ७ हजार ५६ जना युवा वडा कार्यसमितिमा पुगेका छन् । यसरी क्षेत्रीय प्रतिनिधि र वडा सदस्य गरी कुल ४३ हजार ९८६ जना युवा पार्टीको पदीय जिम्मेवारीमा आएका हुन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा उम्मेदवारबीच प्रतिस्पर्धा भएकाले महाधिवेशन प्रक्रियामा झण्डै एक लाख युवा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा सहभागी भएका छन् ।
क्षेत्रीय प्रतिनिधिबाटै गाउँपालिका तथा नगरपालिकाका कार्यसमितिमा समेत युवा प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा जिल्ला कार्यसमितिमा समेत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको कांग्रेसले जनाएको छ ।
त्यसैगरी प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक–एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुने व्यवस्था गरिएको छ ।
नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि चयन हुनेछन् । सातै प्रदेशका कार्यसमितिमा समेत दुई महिलासहित कम्तीमा पाँच जना सदस्य रहने व्यवस्था गरिएको छ ।
केन्द्रीय कार्यसमितिमा पनि पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवतीका दरले १४ जना युवा प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ ।
विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले ठूलो संख्यामा युवाले पार्टीको सांगठनिक जिम्मेवारी लिएको र करिब एक लाखले विभिन्न पदमा प्रतिस्पर्धा गरेको भन्दै कांग्रेसको संगठनमा युवाको सहभागिता उल्लेख्य रूपमा बढेको बताएका छन् ।




























