पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट खुलातर्फ तिलक बहादुर रानाभाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। खुलातर्फ अत्यधिक मत प्राप्त गर्दै रानाभाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
रानाभाटको कांग्रेस राजनीतिमा चार दशकभन्दा लामो सक्रियता छ। उनले २०४२ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेसँगै त्यसयता पार्टीका विभिन्न राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
कांग्रेसका विभिन्न अधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिका रूपमा भूमिका निर्वाह गरिसकेका रानाभाटले पार्टीका विभिन्न संरचनामा समेत जिम्मेवारी सम्हालेका छन्। संगठन निर्माण, नीति तथा प्रशिक्षणमा समेत उनको सहभागिता रहँदै आएको छ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा रानाभाट कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार बनेका थिए। त्यसपछि पनि उनले पार्टीका विभिन्न संगठनात्मक तथा निर्वाचनसम्बन्धी गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका र पार्टीले दिएको जिम्मेवारीअनुसार विभिन्न निर्वाचन क्षेत्रमा संगठनात्मक काममा समेत उनी खटिएका थिए।
रानाभाट कांग्रेसको केन्द्रीय अर्थ समिति तथा नीति तथा प्रशिक्षणसँग सम्बन्धित संरचनामा समेत जिम्मेवारीमा रहेर काम गरी सकेका छन् । यसअघि पनि महाधिवेशन प्रतिनिधिका रूपमा कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भइसकेका उनी कास्की–१ बाट यसपटक पुनः खुलातर्फ निर्वाचित भएका हुन्।
राजनीतिसँगै रानाभाट वैदेशिक रोजगार व्यवसायमा समेत लामो समयदेखि सक्रिय छन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका संस्थापक अध्यक्ष तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षका रूपमा उनले व्यवसायीको संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। वैदेशिक रोजगार क्षेत्रको संगठन र व्यवसायीका मुद्दामा लामो समयदेखि संलग्न रहेकाले उनी यस क्षेत्रका अनुभवी अग्रज व्यवसायीका रूपमा परिचित छन्।
निर्वाचित भएपछि रानाभाटले आफूलाई विश्वास गरेर मतदान गर्ने कांग्रेसका नेता–कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्राप्त मतलाई उनले व्यक्तिगत उपलब्धिभन्दा पनि पार्टीप्रतिको जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
१५औँ महाधिवेशनका लागि निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिँदै रानाभाटले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन, आन्तरिक एकता र सहकार्यलाई बलियो बनाउन तथा लोकतान्त्रिक मूल्य र अभ्यासलाई संस्थागत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




























