काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राजनीतिक नियुक्तिका आधारमा विभिन्न देशमा खटाइएका ११ जना राजदूतलाई कार्तिक २० गते भित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएपछि कतारस्थित नेपाली राजदूत रमेशचन्द्र पौडेल स्वदेश फर्किएका छन्।
रमेशचन्द्र पौडेलले २०२४ नोभेम्बर २२ मा कतारस्थित नेपाली दूतावासमा राजदूतको पदभार ग्रहण गरेका थिए। तत्कालीन केपी शर्मा ओली सरकारको भागबन्डामा नियुक्त भएका पौडेल एक वर्ष पनि नपुग्दै नेपाल फर्किनुपरेको हो।
गत सोमबार परराष्ट्र मन्त्रालयले जारी गरेको पत्रमा, कार्तिक १७ गतेको मन्त्रिस्तरीय निर्णय तथा प्रधानमन्त्री–परराष्ट्रमन्त्री स्तरको निर्देशन अनुसार राजदूतहरूलाई ‘अर्को व्यवस्था नभएसम्म’ मन्त्रालयमा उपस्थित भई कार्यसम्पादन गर्न भनिएको थियो।
यसअघि सर्वोच्च अदालतले राजदूतहरू फिर्ता बोलाउने सरकारी निर्णयमा अन्तरिम आदेश जारी गरे पनि परराष्ट्रले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानमा कार्यरत राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुनु भनिएको थियो।
कतारमा हालका लागि दूतावासका नियमित कार्यहरू नियोग उपप्रमुख कुमार राईले सम्हालेका छन् ।



























