काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दुई धारबीच जारी रहेको विभाजन अन्त्य गर्दै एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा। बद्री केसीले एकता सहमति–पत्रमा हस्ताक्षर गरेसँगै संघ पुनः एकताबद्ध भएको घोषणा गरिएको हो।

पछिल्ला केही वर्षयता एनआरएनए दुई नेतृत्व श्रेष्ठ र केसी मा विभाजित रहे पनि मुलुकको परिवर्तित परिस्थितिमा दुवै पक्षले दस बुँदे सहमति गर्दै साझा नेतृत्वमा अघि बढ्ने तयारी जनाएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघको एकता ‘कोशेढुंगा’ सावित हुने विश्वास व्यक्त गरिन्। उनले विदेशमा बसेर आफ्नो पहिचान, माटोप्रति माया र जिम्मेवारी कायम राख्दै नेपालका विकासका एजेन्डामा सहभागी हुन आग्रह गरिन्।
“विदेशमा रहँदा धेरै दुःख–कष्ट व्यहोर्नुपर्छ, तर मेहनतपछि सफलता अवश्य आउँछ,” प्रधानमन्त्री कार्कीले भनिन्, “जहाँ बसे पनि नेपाली हुँ भन्ने आत्मपहिचान बोकेर आफ्नो मुलुकका लागि जे–कति गर्न सकिन्छ, गर्नुहोस्।”
जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदामा परेको क्षतिलगायत विषयहरूको मूल्यांकन अब आवश्यक रहेको बताउँदै उनले मुलुकको विकास र स्थायित्वका लागि एनआरएनएको सुझाव–सहयोग महत्वपूर्ण हुने उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियामा हार–जित प्राकृतिक हुने उल्लेख गर्दै हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र अर्को अवसरका लागि सकारात्मक रूपमा लाग्नुपर्ने धारणा राखिन्। संघको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो।
एनआरएनए एकतापछि विदेशस्थित नेपाली समुदायका साझा परियोजना, लगानी, पहिचान तथा अधिकारसम्बन्धी पहल प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।



























