काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का सदस्य राष्ट्रहरूले विभिन्न कार्यक्रममार्फत यो दिवस मनाउँदै आएका छन्। सोहि अवसरमा नेपालमा पनि आज मनाईदै छ ।
सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउन सुरु गरिएको हो। त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले यस दिवसलाई औपचारिक मान्यता दिएको थियो।
यो अवसरमा अन्तर्राष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदानको स्मरण गरिन्छ। विश्वभर मानव यात्रालाई सहज, सुरक्षित र तीव्र बनाउन हवाई यातायात सञ्जाल विस्तारमा आइकाओले खेलेको भूमिकालाई पनि विशेष रूपमा उजागर गरिन्छ।
आइकाओका अनुसार सन् २०३० सम्म दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवा विश्वका राष्ट्रहरूलाई आपसमा जोड्ने प्रमुख माध्यमका रूपमा स्थापित हुँदै गएको छ। त्यसैले अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको सान्दर्भिकता अझ बढी भएको आइकाओले जनाएको छ।



























