काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’को उद्घाटन गरेको छ। सेवा विस्तार, संस्थागत सुदृढीकरण र दीगो विकासको लक्ष्यसहित निर्माण गरिएको अत्याधुनिक भवन सोमबार विशेष समारोहबीच उद्घाटन गरिएको हो।
काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित करिब ६० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको १२ तले भवनमा दुई तला पार्किङ सुविधा रहेको कम्पनीले जनाएको छ। नयाँ भवनबाट ग्राहककेन्द्रित सेवा, डिजिटल प्रणाली र पारदर्शितालाई थप मजबुत बनाइने कम्पनीको दाबी छ।
उद्घाटन समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा कम्पनीका संस्थापक शेयरधनी चन्द्रप्रसाद ढकाललगायतले संयुक्त रूपमा रिबन काटेर भवन उद्घाटन गरेका थिए।
समारोहमा बीमा क्षेत्रका विशिष्ट व्यक्तित्व, विभिन्न नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, उद्योगी–व्यवसायी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी तथा कम्पनीका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष ढकालले नयाँ भवनले कम्पनीको दीर्घकालीन रणनीति र सेवा विस्तारमा थप ऊर्जा दिने बताए। “आधुनिक पूर्वाधार, सुविधा सम्पन्न कार्यक्षेत्र र डिजिटल सेवामार्फत छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रदान गर्ने हाम्रो लक्ष्य छ,” उनले भने।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्वागत मन्तव्यका क्रममा भवन उद्घाटनलाई संस्थागत प्रतिबद्धता र दीर्घकालीन दृष्टिकोणको प्रतीकका रूपमा व्याख्या गरे। उनले कम्पनीको निरन्तर प्रगति, सुदृढ व्यवस्थापन तथा सम्पूर्ण टिमको समर्पणकै परिणामस्वरूप यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गरे।
नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष प्रा। डा। फत्तबहादुर केसीले कम्पनीको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा थप उन्नतिको शुभकामना दिए। नेपाल बीमक संघका अध्यक्षले पनि नयाँ पूर्वाधारले समग्र बीमा क्षेत्रलाई नै गौरवान्वित बनाउने विश्वास व्यक्त गरे।
महासंघ अध्यक्ष ढकालले विगत ११ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै नयाँ भवनको उद्घाटनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिए। उनले बीमा क्षेत्रको विस्तार र सुदृढीकरणमा नियामक निकायको भूमिका महत्वपूर्ण रहने बताए।
स्थापनाकालदेखि नै ग्राहकको भरोसा, नवीन सेवा र सुदृढ व्यवस्थापनमार्फत नेपाली बीमा बजारमा विशिष्ट पहिचान बनाउँदै आएको कम्पनीले नयाँ भवनसँगै अझ व्यापक जिम्मेवारी, पारदर्शिता र प्रविधिमा आधारित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




























