काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग भेट गरी विदेशमा रहेका नेपालीको क्षमता देश विकासमा उपयोग गर्ने विषयमा छलफल गरेको छ।
सिंहदरबारस्थित मन्त्रालयमा सम्पन्न उक्त भेटमा विदेशमा अध्ययन तथा पेशागत अनुभव हासिल गरेका नेपाली युवाको ज्ञान, सीप र नवीन प्रविधिलाई नेपालभित्र प्रभावकारी रूपमा उपयोग गर्ने विषयमा केन्द्रित छलफल भएको थियो।
भेटका क्रममा अध्यक्ष डा. शर्माले विदेशमा रहेका नेपाली युवासँग उच्चस्तरीय दक्षता, आधुनिक सोच र प्राविधिक क्षमता रहेको उल्लेख गर्दै त्यसलाई देश विकासमा रूपान्तरण गर्न नीतिगत, संस्थागत तथा समन्वयात्मक पहल आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले ‘ज्ञान रूपान्तरण’ लाई विकास प्रक्रियाको प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
छलफलमा विशेषगरी दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई मातृभूमिसँग अझ सुदृढ रूपमा जोड्ने उपायहरूबारे पनि विचार आदानप्रदान गरिएको थियो।
मन्त्री पोखरेलले विदेशमा रहेका नेपालीको क्षमता, अनुभव र प्रविधिलाई देशसँग जोड्ने सरकारको स्पष्ट प्राथमिकता रहेको उल्लेख गर्दै यस दिशामा आवश्यक कार्यक्रम तथा सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकार र एनआरएनएबीचको समन्वयलाई अझ सशक्त बनाउँदै दिगो विकासका पहलहरूलाई कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गर्नुभयो।
उक्त भेटले नेपालमा दक्ष जनशक्ति परिचालन, प्रविधि हस्तान्तरण तथा ज्ञान आदानप्रदानका क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।



























