काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) की महानिर्देशक एमी पोपसँग भेटवार्ता गरेका छन्।
११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा भएको भेटमा नियमित आप्रवासन मार्गलाई सहज बनाउने, आप्रवासी श्रमिकको सुरक्षा सुदृढ गर्ने तथा नैतिक भर्ती प्रणालीलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा दुवै पक्षले सुरक्षित, व्यवस्थित र मर्यादित आप्रवासन सुनिश्चित गर्न आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको हित संरक्षण, सुरक्षित श्रम आप्रवासन र संस्थागत सुधारका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय पनि छलफलमा उठेको बताइएको छ।
मन्त्री यादवले नेपाली श्रमिकको अधिकार संरक्षण तथा सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरेका थिए। उनले आप्रवासी श्रमिकको हितका लागि अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
महानिर्देशक पोपले सुरक्षित र व्यवस्थित आप्रवासन प्रवर्द्धनका लागि नेपालसँगको सहकार्यलाई निरन्तरता दिने तथा आवश्यक सहयोग विस्तार गर्न आईओएम तयार रहेको बताएकी थिइन्।



























