काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सिप प्रमाणीकरण (SVP) प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्।
नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के. घोषोमसँग शुक्रबार भएको शिष्टाचार भेटका क्रममा मन्त्री यादवले उक्त आग्रह गरेका हुन्।
भेटका क्रममा मन्त्री यादवले सिप प्रमाणीकरण प्रक्रियाका कारण साउदी जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै हालको भिसा प्रक्रिया यथावत् सञ्चालन गर्न आग्रह गर्नुका साथै हाल साउदी अरबमा रोजगारीका लागि जान तयारी गरिरहेका नेपाली श्रमिक सिप प्रमाणीकरणसम्बन्धी अन्योलका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण बनाउन साउदी पक्षसँग आग्रह गरे।
मन्त्री यादवले सिप प्रमाणीकरण (SVP) प्रक्रियासँग सम्बन्धित विषयहरू द्विपक्षीय छलफल, परामर्श र आपसी सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्ने धारणा पनि राखे।
जवाफमा साउदी राजदूत म्निखरले यस विषयमा आफ्नो सरकारसँग आवश्यक परामर्श गरी नेपाल सरकारलाई थप जानकारी उपलब्ध गराइने बताएका थिए।
नेपालबाट हरेक वर्ष ठूलो संख्यामा श्रमिक वैदेशिक रोजगारीका लागि साउदी अरब जाने गरेका छन्। साउदीले लागू गर्न लागेको सिप प्रमाणीकरण (SVP) प्रक्रियाले वैदेशिक रोजगारीको लागत बढ्ने, थप प्रशासनिक झन्झट सिर्जना हुने तथा श्रमिक र रोजगार व्यवसायी दुवै प्रभावित हुने भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले विरोध जनाएका थिए।
यसअघि काठमाडौंस्थित एसभीपीसम्बन्धी तालिम सञ्चालन गर्ने एक प्रशिक्षण केन्द्रमा तोडफोडसमेत भएको थियो। त्यसपछि साउदी रोजगारीमा जान तयारी गरिरहेका नेपाली श्रमिकबीच अन्योल बढेको छ।
यही पृष्ठभूमिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले साउदी पक्षसँग सिप प्रमाणीकरण (SVP) प्रक्रिया तत्काल स्थगन गर्न, भिसा प्रक्रिया यथावत् सञ्चालन गर्न तथा श्रमिकको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न औपचारिक आग्रह गरेका हुन्।



























