काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको स्वीकृति बिना भारतका विमानस्थल प्रयोग गरी नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा इजाजत प्राप्त म्यानपावर संस्थामाथि कारबाही गरेको छ। साथै, विभागले माग गरेको कामदारको उडान विवरण उपलब्ध नगराउने ४३९ वटा इजाजत प्राप्त म्यानपावर संस्थालाई पहिलो पटक सचेत गराएको जनाएको छ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ बमोजिम स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्थाको कार्यान्वयन भए–नभएको सम्बन्धमा विवरण माग गरेको थियो ।
विभागका अनुसार २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको उडान विवरण उपलब्ध गराउन सञ्चालनमा रहेका एक हजार ११७ वटा इजाजतप्राप्त संस्थासँग विवरण मागिएको थियो। तीमध्ये ६७८ संस्थाले मात्र विवरण उपलब्ध गराएका थिए।
विवरण बुझाउने संस्थामध्ये १५९ वटाले विभागको पूर्वस्वीकृतिबिना भारतका विमानस्थल प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारीमा पठाएको भेटिएपछि वैदेशिक रोजगार ऐनको दफा २२ उल्लंघन गरेको कसुरमा ऐनको दफा ५४ बमोजिम पहिलो पटक सचेत गराउने निर्णय गरिएको विभागले जनाएको छ।
यस्तै, विभागले तोकेको समयभित्र उडान विवरण उपलब्ध नगराउने ४३९ वटा इजाजतप्राप्त संस्थाले विभागीय निर्देशन पालना नगरेको ठहर गर्दै वैदेशिक रोजगार ऐनको दफा ३७ तथा दफा ५४ बमोजिम पहिलो पटक सचेत गराएको जनाएको छ। विभागले ती संस्थालाई आवश्यक विवरण यथाशीघ्र उपलब्ध गराउन निर्देशनसमेत दिएको छ भने यसअघि पनि सोही प्रकृतिको कसुरमा सचेत गराइएका ८ इजाजतप्राप्त संस्था ग्रान्ड सुइट जब प्रालि, मास ह्युमन रिसोर्स प्रालि, नुन रिसोर्सेज प्रालि, एपेक्स एचआर कन्सल्टेन्सी प्रालि (फ्युचर स्किल्स एचआर कन्सल्टेन्सी प्रालि), टेस्ला ओभरसिज प्रालि, सुनागुवा इन्टरनेसनल प्रालि, एलाइड इन्टरनेसनल म्यानपावर प्रालि र अञ्जली ओभरसिज सर्भिस प्रालि ले पुनः कसुर दोहोर्याएको पाइएपछि जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
विभागले वैदेशिक रोजगार व्यवसायी संस्थालाई प्रचलित कानुन र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै स्वदेशी विमानस्थल प्रयोगसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तथा विभागले मागेको विवरण उपलब्ध नगराउने संस्थामाथि आगामी दिनमा पनि कानुनबमोजिम कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
विवरण हेर्न तल क्लिक गर्नुहोस् ।



























