काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७, ज्ञान तथा प्रविधि हस्तान्तरण, कृत्रिम बौद्धिकता (एआई), लगानी प्रवर्द्धन तथा गैरआवासीय नेपालीसम्बन्धी ऐन कार्यान्वयनका विषयमा छलफल गरेको छ।
मन्त्री तिमल्सिनासँगको भेटमा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ तथा विशेषज्ञलाई नेपालको विकाससँग जोड्ने उद्देश्यले विश्व ज्ञान सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए। सम्मेलनलाई सरकारका प्राथमिकताका क्षेत्रसँग जोड्दै विभिन्न विषयगत प्यानल छलफलमार्फत दीर्घकालीन कार्ययोजना तयार गर्ने लक्ष्य रहेको उनले बताए।
उनका अनुसार सम्मेलनलाई केवल छलफलमा सीमित नराखी सरकार, निजी क्षेत्र, विश्वविद्यालय र विश्वभर रहेका नेपाली विज्ञबीच सहकार्यको प्रभावकारी मञ्चका रूपमा विकास गर्ने तयारी गरिएको छ।
भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख रोजिना प्रधान राईले सम्मेलनले विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीलाई मातृभूमिसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताइन्। उनले गैरआवासीय नेपालीसम्बन्धी ऐन कार्यान्वयनमा ढिलाइ हुँदा विदेशमा रहेका विज्ञ तथा दोस्रो पुस्ताका नेपालीलाई नेपालको विकासमा सहभागी गराउन व्यवहारिक कठिनाइ भइरहेको उल्लेख गरिन्।
उनले ऐन छिटो कार्यान्वयन भए दोस्रो पुस्ताका नेपालीलाई नेपालको विकाससँग जोड्दै ‘ब्रेन गेन’ अभियानलाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरिन्।
उपमहासचिव कृष्ण पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालमा हस्तान्तरण गर्न संघ प्रतिबद्ध रहेको बताए। उनले संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन भए विश्वभर रहेका नेपाली विज्ञलाई नेपालको विकाससँग जोड्न थप सहज हुने धारणा राखे।
संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले युरोप तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुवै सम्मेलनमा नेपालमा लगानी प्रवर्द्धन, ज्ञान हस्तान्तरण तथा चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ लाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइने बताए।
जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले चौथो विश्व नेपाली ज्ञान सम्मेलनलाई औपचारिक कार्यक्रमभन्दा माथि उठाएर ठोस परिणाम दिने सम्मेलन बनाउनुपर्नेमा जोड दिए। उनले तेस्रो सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै चौथो सम्मेलन स्पष्ट कार्ययोजना र मापनयोग्य उपलब्धिसहित अघि बढ्नुपर्ने बताए।
मन्त्री तिमल्सिनाले सम्मेलनका विषयवस्तु सरकारका विकास प्राथमिकतासँग मेल खाने उल्लेख गर्दै नीति निर्माण, कार्यक्रम कार्यान्वयन र संस्थागत सहकार्यका सबै तहमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले आफू पनि लामो समय विदेशमा बसेको अनुभव सुनाउँदै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्न सकिने उल्लेख गरे। विशेषगरी कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा रहेका नेपाली विज्ञको दक्षतालाई देशको विकाससँग जोड्न मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको उनले बताए।



























