काठमाडौं । कलंकी होटल एन्ड गेस्ट हाउस एशोसिएसनको १४औँ साधारणसभा तथा नवौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका छन्।
साउन १७ गते सम्पन्न अधिवेशनबाट कुमार श्रेष्ठको अध्यक्षतामा निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम बुधबार चन्द्रागिरि नगरपालिकास्थित सफल भ्याली रिसोर्टमा सम्पन्न भएको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम चौलागाईं, उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा अप्सरा थापा, सचिवमा रेशम पुलामी, कोषाध्यक्षमा माधवप्रसाद गौतम र सह–कोषाध्यक्षमा नहकुल भट्टराई, यस्तै सदस्यहरूमा तारा पराजुली, रोजिना खत्री, राजु चौरेल र रविन राईले जिम्मेवारी सम्हालेका छन् ।
पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय प्रभा कार्कीले उद्योग तथा व्यवसाय क्षेत्र बलियो भए मात्रै मुलुकको अर्थतन्त्र सबल बन्ने बताइन्। उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि राज्य तथा सम्बन्धित निकाय गम्भीर भएर लाग्नुपर्नेमा जोड दिँदै उनले व्यवसायीको हकहित संरक्षण र व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“हामी उद्योग व्यवसायीहरूको मर्का जहाँ गए पनि बिर्सने छैनौँ। उद्योग व्यवसायीलाई बलियो बनाउन सक्यौँ भने मात्रै हाम्रो अर्थतन्त्र बलियो हुन्छ र देश बन्छ,” कार्कीले भनिन्।
एशोसिएसनका नवनिर्वाचित अध्यक्ष कुमार श्रेष्ठले होटल तथा गेस्ट हाउस व्यवसायीका साझा समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। महासंघ, प्रदेश तथा जिल्ला तहका सम्बन्धित संघसंस्थासँग समन्वय र सहकार्य गर्दै व्यवसायीका समस्या समाधानका लागि संस्थागत पहल गर्ने उनको भनाइ थियो।
श्रेष्ठले व्यवसायीबीच एकता र सहकार्य कायम गर्दै कलंकी क्षेत्रको होटल तथा गेस्ट हाउस व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे। व्यवसाय प्रवर्द्धन, व्यवसायीको हकहित संरक्षण तथा होटल व्यवसाय सञ्चालनका लागि व्यवसायमैत्री वातावरण निर्माणलाई आगामी कार्यकालको प्राथमिकतामा राखिने उनले बताए।
सम्बन्धित सरकारी निकायसँग निरन्तर संवाद र समन्वय गरी व्यवसायीले भोग्दै आएका नीतिगत तथा व्यावहारिक कठिनाइ समाधानका लागि पहल गरिने श्रेष्ठले बताए। होटल तथा गेस्ट हाउस व्यवसायलाई व्यवस्थित गर्दै कलंकी क्षेत्रको आतिथ्य तथा पर्यटन व्यवसायको विकासमा योगदान पुर्याउने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारी, होटल एन्ड टुरिजम एसोसिएसन नेपाल, बागमती प्रदेशका महासचिव सुनील अर्याल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकाल, गौशाला होटल एन्ड गेस्ट हाउस संघका अध्यक्ष सरोज आले, बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्य खत्री क्षेत्री तथा पर्यटन तथा वातावरण विज्ञ पीके शेर्पालगायत होटल तथा पर्यटन क्षेत्रका उद्योगी–व्यवसायी र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा बोल्दै अतिथिहरूले होटल तथा पर्यटन क्षेत्रमा देखिएका नीतिगत र व्यावहारिक समस्या समाधानका लागि सम्बन्धित निकाय तथा व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। व्यवसाय सञ्चालनलाई सहज बनाउन व्यवसायीमैत्री नीति निर्माण, पर्यटन प्रवर्द्धन तथा होटल व्यवसायको दिगो विकासमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो।
पदस्थापन कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रका व्यवसायी, पूर्वअध्यक्ष, सल्लाहकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले व्यवसाय सञ्चालनका चुनौती, व्यवसायीका समस्या र होटल तथा पर्यटन क्षेत्रको प्रवर्द्धनका विषयमा धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा सांगीतिक प्रस्तुतिसमेत आयोजना गरिएको थियो। सांगीतिक प्रस्तुतिसँगै नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोह सम्पन्न भएको हो।
नयाँ नेतृत्वले व्यवसायीको हकहित संरक्षणसँगै कलंकी क्षेत्रका होटल, गेस्ट हाउस तथा समग्र आतिथ्य र पर्यटन व्यवसायको विकासका लागि संस्थागत रूपमा पहल गर्ने अपेक्षा गरिएको छ।




























