काठमाडौं — नेपाली सांगीतिक क्षेत्रको प्रतीक्षित म्युजिक भिडियो ‘सिम सिम पानी’ को छायांकन सम्पन्न भएको छ। आकर्षक कथा, नेपाली मौलिक परिवेश र सुन्दर दृश्यलाई समेटिएको यस भिडियोको छायांकन गागलफेदीस्थित सुन्दर Film Resort मा गरिएको हो।
उपेन्द्र पन्तको स्वर तथा शब्द रहेको गीतमा गंगा सोनामको महिला स्वर रहेको छ। भिडियोका निर्माता उमा गौचन र सरोज पाण्डे हुन् भने बाल कलाकारका रूपमा सान्युग गौचन र समिया कार्कीको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी दावा तामाङले गरेका छन् भने निर्देशन नितिन चन्दको रहेको छ।
भिडियोमा लोकप्रिय नेपाली अभिनेत्री गरिमा शर्मा र उदाउँदै गरेका अभिनेता सन्दीप बाबु लोहनीलाई मुख्य जोडीका रूपमा प्रस्तुत गरिएको छ। छायांकनका क्रममा देखिएको उनीहरूको केमेस्ट्री र दृश्य सौन्दर्यले ‘सिम सिम पानी’ को पर्दामा आकर्षक प्रभाव देखाउने संकेत गरेको निर्माण पक्षको विश्वास छ।
त्यस्तै, सरोज पाण्डे ‘काका’को भूमिकामा आकर्षक तथा अभिभावकीय व्यक्तित्वका रूपमा देखिएका छन्। वरिष्ठ तथा चर्चित कलाकार हिउँबाला गौतम ‘सानीआमा’को भूमिकामा प्रस्तुत भएकी छन्। दुवै कलाकारको भूमिका र पर्दामा देखिने उपस्थितिले भिडियोलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
गागलफेदीको प्राकृतिक सौन्दर्य, नेपाली मौलिक जीवनशैली र ग्रामीण परिवेशलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोका सेटका दृश्यहरू निकै आकर्षक देखिएको निर्माण टोलीले जनाएको छ। छायांकनका क्रममा देखिएका प्रारम्भिक दृश्यहरूले ‘सिम सिम पानी’ प्रति दर्शकको अपेक्षा अझ बढाएको छ।
‘सिम सिम पानी’ तीज पर्वपछि सार्वजनिक गर्ने तयारी गरिएको छ। मौलिक नेपाली स्वाद, आकर्षक कलाकारको जोडी, पारिवारिक कथा र सुन्दर दृश्य समेटिएको यो परियोजना यस वर्षको प्रतीक्षित म्युजिक भिडियोमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
अब दर्शकको प्रतीक्षा — तीजपछि ‘सिम सिम पानी’ कस्तो रूपमा आउँछ?



























