काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले उठाएका माग सम्बोधन तथा आन्दोलन स्थगनका विषयमा नेतृत्वले व्यवसायीहरूबीच स्पष्ट जानकारी र पर्याप्त छलफल गर्नुपर्ने एट्लान्टिक ओभरसियर प्रा.लिका प्रबन्ध निर्देशक टङ्कप्रसाद पङ्गिनीले बताएका छन्।
पङ्गिनीले व्यवसायीका माग सम्बोधन हुने अवस्था नबनी आन्दोलन फिर्ता लिनुभन्दा सरकारसँग भएका छलफल र प्रतिबद्धताबारे व्यवसायीलाई स्पष्ट जानकारी गराउनुपर्ने बताए।
“आन्दोलनमा गएपछि व्यवसायीका समस्या र मागबारे स्पष्ट रूपमा बुझाएर, सुनाएर मात्रै माग फिर्ता गर्नुपर्थ्यो। नेतृत्वले आजदेखि आन्दोलन बन्द गरौँ भन्यो भन्दैमा हामीले त्यसलाई मान्नुपर्ने अवस्था हुनु हुँदैन,” उनले भने।
उनका अनुसार आन्दोलन स्थगन वा फिर्ताको निर्णय गर्दा नेतृत्वले व्यवसायीहरूको सामूहिक धारणा र मागको अवस्थालाई समेत ध्यान दिन आवश्यक छ। सरकारसँग भएका छलफलको वास्तविक अवस्था व्यवसायीलाई जानकारी गराउन नसक्दा अन्योल सिर्जना हुने उनको भनाइ छ।
पङ्गिनीले वैदेशिक रोजगार व्यवसायीहरूबीचको एकता कमजोर हुने गरी गतिविधि हुन नहुने बताए। उनले व्यवसायीहरू कुनै एउटा संस्थाबाट अर्को संस्थामा जाने र त्यस क्रममा आफ्ना सहकर्मी तथा व्यवसायीलाई समेत प्रभावित गर्ने अवस्थासँग वर्तमान परिस्थितिलाई तुलना गरे।
“हामी त्यस्तो अवस्थामा पुग्नु हुँदैन कि एक ठाउँ छोडेर अर्को ठाउँमा जाने र पछाडि रहेका सबैलाई पनि त्यतै आउन प्रेरित गर्ने अवस्था बनोस्। व्यवसायीको एकता र सामूहिक हितलाई प्राथमिकता दिनुपर्छ,” उनले भने।
उनले सामाजिक सञ्जाल वा फोनमार्फत मात्र छलफल गर्नुभन्दा सम्बन्धित पक्षहरूबीच प्रत्यक्ष भेटेर विस्तृत रूपमा छलफल गर्नु उपयुक्त हुने बताए। व्यवसायीका समस्या, आन्दोलनका उपलब्धि र आगामी रणनीतिबारे नेतृत्व र व्यवसायीबीच प्रत्यक्ष संवाद आवश्यक रहेको उनको भनाइ छ।
पङ्गिनीले सरकारसँग भएका सहमति तथा प्रतिबद्धताको कार्यान्वयनको अवस्था स्पष्ट हुनुपर्ने र त्यसकै आधारमा आगामी कदम तय गर्नुपर्ने बताए



























