काठमाडौं– नेपाली कांग्रेसका पूर्व रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले पार्टी सभापति गगनकुमार थापाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
एक अन्तर्वार्तामा तामाङले आफू गगन थापासँग असन्तुष्ट रहेकै कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा जाने पक्षमा नरहेको बताएका हुन्। उनले आफ्ना साथीहरू सानेपा गए पनि आफू भने नजाने स्पष्ट पारे।
‘गगन थापासँग हजुर भनेर नेपाली कांग्रेसमा राजीनामा मैले गरेकै थिएँ,’ तामाङले भने, ‘तपाईं सानेपा जान तयार हुनुहुन्छ, म चाहिँ सानेपा जान तयार छैन। म जान्नँ।’
तामाङले आफूलाई पार्टीभित्रको प्रणाली र निर्णय प्रक्रियाप्रति मुख्य असन्तुष्टि रहेको बताए। उमेरको विषय नभई पार्टी सञ्चालनमा विधि र प्रणाली महत्वपूर्ण हुने उनको भनाइ छ।
उनले आफू रामेछाप जिल्ला कार्यसमितिको सभापति रहँदा जिल्ला कार्यसमितिले गरेको सिफारिसलाई पार्टी नेतृत्वले उचित मूल्यांकन नगरेको आरोप लगाए। समानुपातिक, प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि जिल्ला कार्यसमितिले सिफारिस गरेका नाममध्ये राष्ट्रियसभाका उम्मेदवारलाई प्राथमिकता दिइएको भन्दै उनले असन्तुष्टि जनाए।
‘राष्ट्रियसभाको मान्छेलाई नम्बर एकमा टिकट दिइयो। जिल्ला सभापति र जिल्ला कार्यसमितिको भ्यालु के होला ? भ्यालु राखिएन,’ उनले भने।
आफूलाई टिकट नदिएको विषयमा मात्र आफ्नो असन्तुष्टि नरहेको स्पष्ट पार्दै तामाङले जिल्ला कार्यसमितिको निर्णयअनुसार उम्मेदवारीको विषय सम्बोधन गर्नुपर्ने मागसमेत पूरा नभएको बताए। त्यसमाथि पार्टी सभापतिले आफूलाई व्यक्तिगत रूपमा सम्पर्क गरेर राजनीतिक विषयमा छलफलसमेत नगरेको उनको गुनासो छ।
तामाङले निर्वाचनमा आफूले उल्लेख्य मत प्राप्त गरेको स्मरण गर्दै पार्टीभित्रको असन्तुष्टिका बाबजुद पनि आफूले लामो समय धैर्य गरेको बताए। उनले आफूले गगन थापामाथि आर्थिक अनियमितताको आरोप नलगाएको समेत स्पष्ट पारे।
‘गगनले कहाँबाट पैसा ल्याए भनेर मैले भनेको छैन। गगनले के खर्च गरे भनेर पनि मैले भनेको छैन,’ उनले भने।
तामाङले आफूले उठाएका विषयहरू सार्वजनिक रूपमा नै राख्दै आएको र पार्टीभित्र देखिएका असन्तुष्टिलाई संवाद र प्रणालीमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।
पूर्णबहादुर तामाङ ‘कान्छाराम’ यसअघि नेपाली कांग्रेस रामेछापको जिल्ला सभापति रहिसकेका नेता हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रामेछापबाट निर्वाचित भएका थिए।
तामाङको पछिल्लो अभिव्यक्तिले नेपाली कांग्रेसभित्र नेतृत्व, टिकट वितरण र जिल्ला तहको निर्णय प्रक्रियालाई लिएर भइरहेको बहसलाई थप सतहमा ल्याएको देखिन्छ।



























