काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार व्यवसाय सञ्चालनका क्रममा देखिएका प्रक्रियागत, प्रशासनिक तथा प्राविधिक समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग छलफल थालेको छ। श्रमिक भर्ना प्रक्रियालाई सहज र व्यवस्थित बनाउने उद्देश्यले संघले विभिन्न निकायसँग संवाद अघि बढाएको हो।
यसैक्रममा संघका अध्यक्ष डिकबहादुर खत्री (कुमार)को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वैदेशिक रोजगार विभागका महानिर्देशक तथा निर्देशकहरूसँग भेट गरी व्यवसायीले सेवा प्रवाहका क्रममा भोग्दै आएका समस्याबारे छलफल गरेको छ।
छलफलमा कोटा रद्द गर्दा देखिएका समस्या, पूर्वस्वीकृति तथा अन्तिम श्रम स्वीकृति प्रक्रियामा देखिएका जटिलता, उजुरीको प्रकृति, उजुरी फरफारकको विद्यमान पद्धतिलगायतका विषयमा छलफल भएको संघले जनाएको छ।
संघले विभागबाट इजाजतपत्र प्राप्त संस्थाले सेवा लिने क्रममा भोग्नुपरेका प्रशासनिक, व्यावहारिक तथा प्राविधिक असहजता समाधान गरी सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन आग्रह गरेको थियो। प्रक्रियागत जटिलताका कारण व्यवसायी मात्र नभई श्रमिकको भर्ना तथा वैदेशिक रोजगारीमा जाने प्रक्रिया पनि प्रभावित हुने भएकाले समस्या समाधानका लागि व्यावहारिक पहल आवश्यक रहेको संघको भनाइ छ।
भेटपछि विभागका महानिर्देशकले व्यवसायीका पक्षमा रहेका व्यावहारिक विषयमा सम्भव भएसम्म सहजीकरण गर्ने सकारात्मक प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ। विभागसँगको छलफललाई सकारात्मक रूपमा लिँदै समस्या समाधानका लागि आगामी दिनमा पनि संवादलाई निरन्तरता दिने संघले जनाएको छ।
संघले वैदेशिक रोजगार विभागसँगको छलफलपछि श्रम गन्तव्य मुलुकमा रहेका नेपाली दूतावास तथा सम्बन्धित निकायसँग पनि छलफल अघि बढाउने तयारी गरेको छ। श्रमिक भर्ना प्रक्रियामा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित सबै निकायसँग समन्वय गर्ने संघको योजना छ।
यसैबीच, कारबाहीमा परेका ५९८, ३९ र १२४ नम्बरका व्यवसायी संस्थासम्बन्धी गुनासो, सहजीकरण तथा न्यायिक व्यवस्थापनका लागि संघका तृतीय उपाध्यक्ष एवं वैदेशिक रोजगार विभाग समन्वय समितिका संयोजक लक्ष्मण पौडेललाई सम्पर्क गर्न संघले व्यवसायीलाई आग्रह गरेको छ।
संघका अध्यक्ष खत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासचिव हिराबहादुर डाँगी (हरि), कोषाध्यक्ष धनमाया सिंजाली, सदस्य गीता राउतलगायत सहभागी थिए।
महासचिव डाँगीले व्यवसायीका समस्या समाधानका लागि सरकारी निकायसँगको समन्वय र छलफललाई निरन्तरता दिइने बताए। उनका अनुसार श्रमिक र व्यवसायी दुवैको हितलाई ध्यानमा राख्दै वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन संघले पहल गरिरहेको बताए।



























