काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ ले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई लक्षित गर्दै काठमाडौंमै घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाको वडा कार्यालयले आ.व. २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता निरन्तर गर्नुपर्ने परिचयपत्र नवीकरण तथा लाभग्राही सूचीकरणको कामलाई सहज बनाउन काठमाडौंमा घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।
वडा कार्यालयका अनुसार भदौ ९ गतेदेखि ११ गतेसम्म गोकर्णमा शिविर सञ्चालन हुनेछ। शिविरमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बायोमेट्रिक प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गरिनेछ।
गाउँमै पुगेर सेवा लिन नसक्ने तथा काठमाडौं उपत्यकामा बसोबास गरिरहेका लाभग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीले सामाजिक सुरक्षा भत्ताको सक्कल परिचयपत्र तथा फोटोकपी, एक प्रति पासपोर्ट साइज फोटो, नागरिकताको फोटोकपी र १० अंकको राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदन फारामको फोटोकपी साथमा ल्याउनुपर्नेछ।
अशक्त लाभग्राहीले अशक्त परिचयपत्र र संरक्षकको नागरिकता, बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकता र विधुवा/एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्र आवश्यक पर्ने वडा कार्यालयले शिविर अवधिमा सामाजिक सुरक्षा भत्ता नवीकरणसँगै जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका व्यक्तिगत घटना दर्ता तथा आवश्यक सिफारिसका कामसमेत गरिने वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गर्ने गौरीशंकर–८ का सम्पूर्ण लाभग्राहीलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित भएर सेवा लिन आग्रह गरेको छ।



























